धरान । धरान सर्दु जलाधार क्षेत्रको नाममा जग्गा रोक्का राखिएको भन्दै बाँझगरा–९ (क) का जग्गाधनीहरूले निरन्तर सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।
बाँझगरा ९ (क) जग्गा रोक्का फुकुवा तथा सीमाङ्कन पहल समिति गठन गरेर असार १० गतेदेखि आन्दोलन गरिरहेका हुन् । आन्दोलित समितिले आइतबार धरान उपमहानगरपालिका, धरान–१३ नम्बर वडा कार्यालय र धरानस्थित मालपोत कार्यालयमा धर्ना दिएका छन् ।
सरकारले सर्दु जलाधार क्षेत्रमा नपरेका जग्गालाई पनि सर्दु जलाधारको भन्दै रोक्का गरेकाले समस्या भएको आन्दोलन समितिका संयोजक हरि कार्कीले जानकारी दिए ।
सरकारले सर्दु जलाधार क्षेत्रको नाममा झण्डै १५ सयभन्दा बढी जग्गाधनीको जग्गा रोक्का गरेको उनको भनाइ छ । उनका अनुसार एकजना व्यक्तिको करिब ५ धुरदेखि एक बिघा जग्गासम्म रोक्का भएको छ ।

धरान नगर पञ्चायत २०१७ सालमा स्थापना भएको भए पनि तत्कालीन राजा वीरेन्द्र शाहले २०३३ सालमा सर्दु जलाधार क्षेत्रको नाममा जग्गाको सट्टाभर्ना तथा क्षतिपूर्ति दिएका थिए । त्यहाँ बसोबासीलाई तत्कालीन राजा वीरेन्द्रले मोरङको कानेपोखरी, पथरीमा सट्टाभर्ना दिएका थिए । यता हाल जग्गा फुकुवाको आन्दोलन गरिरहेकाहरूले भने सर्दु जलाधारभित्र आफूहरूको जग्गा नपर्ने दाबी गर्दै आइरहेका छन् ।
संयोजक कार्कीले सरकारले आफ्नो जग्गाको सीमा तोक्नुपर्ने र स्थानीयको जग्गा फुकुवा गरी बैङ्किङ कारोबारदेखि सबै कार्य गर्न फुकुवा गरिनुपर्ने माग गरिएको बताए । उनले भने, ‘सट्टाभर्नामा नपरेका तथा कारबाहीमा नपरेकाको जग्गा सरकारले फुकुवा गर्नुपर्छ ।’ उनले जसले सट्टाभर्ना तथा क्षतिपूर्ति पाइसकेका छन्, त्यस्ता जग्गाका लागि आफूहरू पनि सुरक्षा दिन तयार रहेको बताए ।
धरान–१३ र ४ नम्बर वडावासी अहिले समस्यामा परेका छन् । स्थानीय सरकारले पनि यस विषयमा पहल गर्ने जनाउँदै आएको भए पनि हालसम्म यथेष्ट कदम चालेको पाइएको छैन । नगर तथा वडाका साथै मालपोत कार्यालयमा साङ्केतिक रूपमा धर्ना दिइएको उनले जानकारी दिए ।
धर्नाबाट पनि मागको सुनुवाइ नभएमा कडा रूपमा आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् । विगतदेखि नै दबाव दिनका लागि आन्दोलन गर्दै आइरहेका छन् ।