भद्रपुर । फोहोरको दिर्घकालिन समाधान खोज्न झापाका स्थानीय पालिका प्रमुख, उपप्रमुखहरु छलफलमा जुट्न थालेका छन् ।

 फोहोरको विषयलाइ लिएर मेचीनगर, बिर्तामोड र कन्काई नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुबीच छलफल शुरु भएको छ ।

फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा स्थानीय सरकार प्रमुख उपप्रमुखहरुले बजारबाट सङ्कलन गरेको फोहोरबाट मोहोर बनाउन सकिने सामूहिक निष्कर्श निकालेका छन् ।

कन्काई नगरपालिका–२ स्थित कन्काई बिर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको सभाकक्षमा भएको छलफलमा गल्ने फोहोरबाट ग्याँस उत्पादन गर्न सकिने र देशका विभिन्न भागमा गल्ने फोहोरबाट ग्याँस उत्पादन गर्ने काम धमाधम भइरहेको समेत उदारहण प्रस्तुत गरेका थिए ।

छलफलमा कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब केहि महिनाभित्र सञ्चालनमा आउने कन्काई नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले बताए ।

छिमेकी पालिकाहरूसँग मिलेर संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको भन्दैं मेचीनगर र भद्रपुर नगरपालिकालाई समेत यो आयोजनामा लगानी गर्न प्रस्ताव गरेको जानकारी दिए । पछिल्लो समय झापाका अधिकाँश पालिकाहरुले राजमार्ग तथा खोला नदीका छेउमा अस्थायी रूपमा फोहोर तह लगाउने गरेको भन्दैं  स्थानीयले विरोध गर्दै आएका छन् ।

नदी र जङ्गलको विचमा फोहोर फालेर यो समस्याको दिगो समाधान नहुने मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । जबसम्म स्थानीयलाई फोहोरमा मोहोर छ भन्ने बुझाउन र स्थानीयमा आफै चेतना नआएसम्म समस्या चुनौतीपूर्ण भइरहने उनको धारणा थियो ।  नकुहिने खालको प्लाष्टिक र सिसा भएका वस्तु वर्गीकरण गर्नुपर्नेमा जोड दिदैं मेचीनगर गरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारले कुहिने र नकुहिने गरि छुट्याउने बानी स्थानीयमा बसाल्न सके मात्रै पनि आधाभन्दा बढी फोहोर घरमै तह लाग्ने बताइन् ।

जताभावी वा सार्वजनिक स्थलमा फोहोर फयाक्नेलाई दण्ड जरिवाना र फोहोरको वर्गीकरण गरेर राखेमात्र केही समाधान हुने विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको भनाई छ । सम्बन्धित पालिकाको फोहोर सङ्कलन गर्ने सवारी साधनले फोहोर उठाउने गरे पनि यो समस्या थोरै समाधान हुने उनले धारणा राखिन् ।

उर्जाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २ देखि ३ महिनाभित्रमा उर्जा सञ्चालनमा आउने बताइएको छ । कम्पनीलाई विश्व बैँकको बैकल्पिक उर्जा प्रबन्धन केन्द्र नेपालको ५ करोड ४८ लाख सहयोग रहेको छ ।

यस्तै कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले ५०÷५० लाख लगानी गरेका छन् । १८ करोड रुपैयाको लागतमा निर्माण हुने सो परियोजना निर्माणका लागि कम्पनीले ५७ कठ्ठा जग्गा खरिद गरेको छ भने ५४ लाख रुपैयाँको लागतमा सन्का खोलामा तटबन्ध गरेको जनाइएको छ ।