विजयपुर/सामाजिक सञ्जालको दुरुपयोग गरी दलित समु्दायलाई लक्षित गरी भएका गालीगलौज गर्नेलाई छानबिन गरी कारबाहीको माग गर्दै गृह मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ ।

बुधबार विश्वकर्मा युवा समाज धरानले इलाका प्रशासन कार्यालय धरान सुनसरीमार्फत जातीय भेदभावजन्य गालीगलौज गर्नेलाई कारबाहीको माग गर्दै गृह मन्त्रालयमा विज्ञप्ति बुझाएको हो । इलाका प्रशासन कार्यालयले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध शाखालाई विज्ञप्ति पठाइसकेको छ ।

समाजका अध्यक्ष युवराज शंकरले मुलुकमा कुनै पनि घटनामा दलित समुदाय र व्यक्तिलाई लक्षित गरी तल्लो स्तरका टीकाटिप्पणी गर्ने दर बढेकाले नियन्त्रण गर्न माग गरी विज्ञप्ति पठाएको बताए । 

समाजले जारी गरेको विज्ञप्तिमा समाज र सामाजिक सञ्जालमा दलित समुदायलाई लक्षित गरी तल्लोस्तरका नकारात्मक टीकाटिप्पणीले आम दलित समुदायको आत्मसम्मानमा ठेस मात्रै पुगेको छैन यस किसिमका घटनाले समाजलाई नै विखण्डनतिर लगी जातीय द्वन्द्व भड्किने सम्भावना बढेर गएको उल्लेख छ ।

विज्ञप्तिमा यस्ता घट्नामा कमी हुनु पर्नेमा दिनानुदिन बढेर गएको हाम्रो निष्कर्ष निकाल्दै समाज कतातिर जाँदै छ भन्ने पनि गम्भीर प्रश्न उठेको उल्लेख छ । वराह बचत तथा ऋण सहकारी बचतकर्ताको रकम संकटमा परेकामा समाजले चिन्ता व्यक्त गरेको छ ।

वराह पीडितहरूको विषयमा धरान उपमहानगरको कार्यालयमा भएको घटनामा चिन्ता व्यक्त गर्दै सहकारी स्थानीय सरकार क्षेत्राधिकारमा पर्ने भएकाले सहज अवतरणका लागि अनुरोध गरेको छ । सामाजिक सञ्जालको व्याप्त दुरुपयोग गरी समाजलाई असर पु¥याउने कार्यलाई नियमन निकायले नियन्त्रण नगरेको जनाएको छ ।