विराटनगर । मोरङको ग्रामिण क्षेत्रमा सहकारीको नाममा ठगी धन्दा गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । गाउँको सर्वसाधरणलाई आफ्नो प्रभावमा पारि सहकारीको माध्यमबाट ऋण दिने भन्दै ठगी धन्दा चलाउने गिरोहलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
मोरङको धनपालथान गाउँपालिका – ५ मा बित्तिय संस्थाबाट आएको सस्तो ब्याजमा ऋण दिने भन्दै प्रलोभनमा पारि सर्वसाधरणलाई ठगी गरेको पाएपछि इलका प्रहरी कार्यालय रंगेलीले दुई जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १० का ५१ वर्षिय कार्तिकेश झा र सोही ठाउँका ४० वर्षिय अन्जनी कुमार साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए ।
प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा बसेर उनीहरुले मोरङको ग्रामिण क्षेत्रका सर्वसाधरणलाई आफ्नो प्रभावमा पारेर बित्तिय संघसंस्थाको माध्यमबाट ठगी गरेको पाइएपछि पक्राउ गरिएको डिएसपी मुकारुङले बताए ।
पक्राउ परेका समूहबाट चैत १९ गते धनपालथान गाउँपालिका ५ स्थितका सर्वसाधरणहरुलाई किसान वित्तिय संस्थाबाट आएका कर्मचारीहरु भन्दै रकम संकलन गरेका थिए । उक्त संस्थाबाट ऋण प्राप्त गर्न पहिले ८ हजार पैसा सहित परिचय खुल्ने कागजहरु र फोटो पेश गर्नुपर्छ भनि नगद पैसा ठगि गरी गएका थिए ।
पुनः पक्राउ परेका व्यक्तिहरुले पैसा लिएर गएको दुई दिनपछि २१ चैतमा धनपालथान गाउँपालिका ६ रायटोलमा पैसा उठाउन आएको छ भन्ने जानकारी प्राप्त भएपछि स्थानियले ईलाका प्रहरी कार्यालय रंगेलीमा खबर गरेर थिए ।
इप्रका रानीबाट खटिएकाले टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीको नाम भजाएर ठगी धन्दा चलाउने गिरोहले धनपालथानबाट दुई दर्जन बढी पीडित रहेको बुझिएको छ । सहकारीबाट सस्तोमा ऋण पाइने भन्दै उनीहरुले ठगी गर्ने गिरोहलाई जनही ८ हजारको दरले १४ जनाले उनीहरुलाई पैसाँ दिएको स्थानियको भनाई छ ।
पक्राउ परेका पाँच जनालाई प्रहरीले मोरङ अदालतबाट पाँच दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।