विराटनगर । ‘कमिसन’ एक्लै हत्याउन तीन जना साझेदारको हत्या गर्ने घटनाको मुख्य अभियुक्त सिरहा नगरपालिका घर भई काठमाडौंको बल्खुमा बस्ने ३१ वर्षीय अनिलकुमार मण्डलले विराटनगरको एउटा सातु पसलमा हत्याको योजना बनाएको खुलेको छ ।

२८ मङ्सिरमा लिम्बूको हत्या गरेर ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चारङ्गखेलस्थित गोदाम घरमा शव गाडेर फर्किएपछि राजेन्द्र श्रेष्ठ र शम्भु चौधरीको हत्याको योजना विराटनगरको हमेन्द्रचौकस्थित सातु पसलमा बनाएको खुलेको हो ।

पक्राउ परेका मुख्य अभियुक्त अनिलले प्रहरीलाई दिएको बयानअनुसार लिम्बूको हत्या गरेपछि भाडामा लिएको घरको कम्पाउण्ड एरियामा सात फिट गहिरो खाडल खनेर शव गाडेका थिए । मण्डलले लिम्बूको हत्या गरेपछि राजेन्द्र र शम्भुलाई लिएर २९ मङ्सिरमा विराटनगरमा आएका रहेछन् ।

‘काठमाडौंमा मोहनको हत्या गरेपश्चात् अमित र निजसँग भएका अन्य व्यक्तिहरूसमेत सोही रात रात्रीबस चढी विराटनगरतर्फ आएका थिए । सो क्रममा अमितसँग मेरो फोनमा सामान्य कुराकानी हुँदै थियो र मैले उनलाई हामी विराटनगरमा बसेको बारे जानकारी गराई भेट्न बोलाएको थिएँ । अमितसँग मेरो सम्पर्क भई विराटनगरस्थित महेन्द्र चौकनजिक रहेको सातु पसलको छेउमा बसी राजेन्द्र र शम्भुलाई मार्ने योजना बनाउँदै आएका थियौँ ।

अमितले आफ्नो घरनजिक सुनसान एकान्त उखुबारी रहेको र अन्य साथीहरू पनि त्यहाँ भेला हुन सजिलो हुने र काम गर्न सजिलो हुने बताएपछि मैले समेत एक दिन अमितसँग त्यहाँ गई ठाउँ हेर्दा उपयुक्त लागेकोले सोही ठाउँमा लगी हत्या गर्ने योजना बनेको थियो ।

सोही क्रममा म काठमाडौंबाट आएको २–३ दिनपछि मिति २०७८ पुस ३ गते साँझको ६–७ बजेको समयमा  राजेन्द्रलाई मेरो साथीको घरगाउँतिर घुम्न जाऊँ भनी अमित भन्ने दिनानाथ सोनारले रिजर्भ गरी ल्याएको एकिन नं. थाहा नभएको अटोमा म, राजेन्द्र र अमित आउने क्रममा हामीहरू सँगै रामचौक भन्ने स्थाननजिकै नहरसम्म आएपछि म जाँड, रक्सी खाँदिन, तपार्इंहरू खानुहुन्छ विस्तारै खाएर आउनू भनी म रामचौकबाट दक्षिणतिरको नहरमा पर्खेर बसेपछि अमित र राजेन्द्र म भएको स्थानमा आएपछि म र अमितले विराटनगरस्थित सातु पसलनजिक बसेर बनाएको योजनाअनुसार शव फेला परेको स्थानबाट पश्चिममा रहेको मुख्य नहरबाट कमलपुरतर्फ जाने शाखा नहरको कदमको रुखहरू भएको स्थानमा शव फेला परेको स्थानबाट १ सय मिटर उत्तर पुगेपछि योजनाअनुसार नै अमितले तयार गरिराखेका काठमाडौं समेत गएका नासिर मियाँ, सुभान मियाँ, हकिम मियाँ, सहिद मियाँसमेतका मानिसहरू लुकेर बसेको स्थानबाट अकस्मात आई राति ८–९ बजेतिर राजेन्द्रलाई शाहिद मियाँ र सुभान मियाँले गम्छाले पछाडिबाट घाँटीमा कसेर लडाएपछि नासिर मियाँले हातमा, हाकिम मियाँले खुट्टामा र अमितले टाउको समातेर प्रतिकार गर्ने कुनै मौका नै नदिई हत्या गरेका थिए ।

हत्या गरेपछि राजेन्द्रको मोबाइल फोन बोकी अमितलाई अब यो लाशलाई खाल्डो खनी गाड्नू, म विराटनगर तिर लागेँ, गाडिसकेपछि मलाई खबर गर्नू भनेपछि अमितले म साइकलमा पु¥याइदिन्छु गाड्ने काम अन्य केटाहरूले गर्छन् भनी मलाई साइकलमा विराटनगरस्थित महेन्द्र चौकनजिक पुर्याइदिए’ –अभियोग पत्रमा उल्लेख छ । राजेन्द्रको हत्या गरेपछि माघ ७ गते शम्भुको हत्या पनि सोहीअनुसार गरेको अनिलले बयान दिएका छन् ।

ललितपुरको क्यान्सर अस्पतालनजिक रहेको २५ रोपनी ७ आना जग्गाको बैङ्क ग्यारेन्टी मिलाएबापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिसन’ एक्लै हत्याउन मण्डलले फरक– फरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेका थिए ।

मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधी झिकाएर एउटै शैलीमा तेह्रथुम सङ्क्रान्ति–२ घर भई काठमाडौं बस्दै आएका ६३ वर्षीय मोहन लिम्बू, सुनसरीको धरान घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका– ४ घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

तीन जनाको हत्यामा आधा दर्जन बढीको संलग्नता भए पनि मुख्य योजनाकार मण्डलसहित मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचसहित फरार एक जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा अभियोग दर्ता भएको छ । मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा सोमबारदेखि थुनछेक बहस सुरु भएको छ ।

प्रहरीले मुख्य अभियुक्त अनिलसहित मोरङको जहदा गाउँपालिका–४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका– ७ कमलपुरका ६२ वर्षीय नासिर आलम, मोहम्मद हकिम मनसुरी, मोहम्मद सुभाद मनसुरी र मोहम्मद सहिद मियाँलाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको छ ।