विजयपुर । एक युट्युब च्यानल सञ्चालकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
ब्यूरोले सोमबार ‘सेलेब नेपाल’ नामक युट्युब च्यानलका सञ्चालक राहुल थापालाई पक्राउ गरेको हो । साइबर ब्यूरोका प्रवक्ता एसपी नविन्द्र अर्यालले एक विज्ञप्ति जारी गर्दै थापालाई पक्राउ गरेको जानकारी दिए ।
२१ वर्षीय थापा गुल्मी स्थायी घर भई हाल बुटवल–१३ रूपन्देही बस्दै आएका थिए । उक्त युट्युब च्यानलले पीडितको मानमर्दन र चरित्रहत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण गरेकोले पक्राउ गरेको जनाइएको छ ।
ब्यूरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । थापालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । ब्यूरोले थप १ जना युट्युबरलाई पनि पक्राउ गरेको थियो ।
आइतबार नै ललितपुर बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको हो । उनलाई नाबालिगको अश्लील तस्बिर तथा स्ट्याटस राखेको आरोप लागेको जनाइएको छ । विभिन्न घट्नामा तथ्यपरक नभई भ्रामक सूचना सम्प्रेषण गर्ने, पल शाहको बलात्कार प्रकरणमा पीडित भनिएकी बालिकाबारे अश्लील सामग्री प्रकाशित गर्ने र चरित्रहत्या गर्नेहरूलाई साइबर ब्यूरोले खोजिरहेको जनाएको छ ।
अब युट्युब च्यानललाई पनि नियमन गर्न लागिएको छ । नियमनको दायरामा ल्याउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली लागू गरी नियमन गर्न लागेको हो । नियमावली संशोधन गर्दै ओटीटी/भीओडी र अनलाइन टिभीलाई सम्बोधन गरेको हो ।
संशोधन गरेको नियमावलीमा ‘युट्युब च्यानल’ नभए पनि ओटीटीको परिभाषा र अनलाइन टिभीको परिभाषा दुवैले युट्युबलाई समेट्न सक्छ । नियमावली लागू भएसँगै युट्युब च्यानल सञ्चालनको इजाजतपत्र लिनका लागि ५ लाख रुपैयाँ तिर्नु पर्नेछ ।