वराहक्षेत्र/गैरकानुनी रुपमाआदर्श सामुदायिक वनबाट काठ ल्याई चिर्न राखेको अवस्थामा वराहक्षेत्रको वार्ड नं २ स्थित कार्की फर्निचर उद्योगबाट २ थान साल जातको गोलिया काठ बरामद गरिएको छ ।

सोमबार बिहान ८ वजे नडाहा र चतरा वन सब डिभिजन कार्यालय र आदर्श वन समूहले संयुक्त रुपमा बिहान ८ बजे छोपेर राखेको अवस्थामा उक्त काठ बरामाद गरेको हो ।

बरामद काठको परिमाण ८२ ईन्ची गोलाई र ७ फुट लम्बाई र अर्को ७८ ईन्ची गोलाई र ६ फुट लम्बाई भएकोे नडाहा र चतरा सब डिभिजन वन कार्यालयका रेन्जर लेखनाथ भण्डारीले बताए ।

नियन्त्रणमा लिइएको काठ वन समूहको जिम्मा लगाइएको छ भने काठ ओर्सान प्रयोग गरिएको स्थानिय ईन्द्र बहादुर पोखरेलको को १ त ५४६० नम्बरको ट्याक्टर नडाहास्थित वन कार्यालयमा राखिएको छ । काठ तस्करीमा संलग्न वराहक्षेत्र १ खारखोला बस्ने विज्ञान राईको खोजी भइरहेको रेन्जर भण्डारीले जानकारी दिए ।

उद्योगमा काठ आइतबार राती ल्याएको बुझिएको भन्दै भण्डारीले काठ तस्कर राई, काठ ओर्सान प्रयोग गरिएको ट्याक्टर र काठ मिललाई कस्तो कानुनी कारवाही गर्ने त्यसको जिम्मा आदर्श वनलाई दिएको बताए ।

यता चुडा कुमारी कार्कीको नाममा रहेको सो काठ मिलको गेट नभएकोले खुल्ला रहने मिलमा राती नबस्ने गरेको हुँदा, कसले काठ ल्याएको हो आफूलाई थाहा नभएको छोरी सनिसा कार्कीले बताईन् ।