बाँकेमा हतियार सहित ३ जना लाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्लाकाे डुडुवा गाउँपालिका ४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोकसहित मंगलबार बेलुकी प्रहरीले ३ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बनकट्टीले जनाएकाे छ ।
कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका १२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका ३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।
गोली पड्किएजस्तो आवाज आएपछि कार्यालयबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको सुसान्तले चलाएको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीको सिट पछाडि झोलामा लुकाई राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएकाे छ ।
पक्राउ परेका उनिहरूकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ