सुनसरी । प्रहरीले रोकथाम तथा नियन्त्रण गर्न लागिपरेको बताइरँहदा अझै पनि सुनसरीका विभिन्न सीमा नाका हुँदै गाँजा तस्करी हुने गरेको पाइएको छ ।

पहाडी जिल्लाबाट ल्याइने गाँजा रातिको समयमा जिल्लाका विभिन्न सीमावर्र्ती क्षेत्र हुँदै भारततर्फ कटाउने गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहे पनि तस्करहरूले उनीहरूलाई छल्दै गाँजा तस्करी गर्दै आएका छन् ।

सोही क्रममा जिल्लाको कोसी गाउँपालिका–८ भण्टाबारीस्थित तीनकुने नाका र सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीनजिक रहेको खोलाको बाटो हुँदै लगिएको १ सय १० केजी गाँजा सोमबार बिहानको समयमा भारतीय एसएसबीले २ सय ६ नम्बरको सीमास्तम्भ नजिकैबाट बरामद गरेपछि नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको रहस्य खुलेको हो ।

सीमामा तैनाथ सुरक्षाकर्मीलाई प्रतिकेजी एक हजार रुपैयाँ दिई नेपालबाट गाँजा तस्करी गराउने गिरोह सक्रिय रहेको स्रोतले बतायो । विगतमा समेत सीमा सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीले आफ्नो गाडीमा भारततर्फ गाँजा तस्करी गराउने गरेको आरोप लगाउँदै स्रोतले भन्यो, ‘विगत केही महिनायता भने सशस्त्र प्रहरीको बिओपी भण्टाबारीदेखि सय मिटर नजिकबाट भारततर्फ गाँजा तस्करी हुने गरेको पाइएको छ ।

स्रोतका अनुसार कोसी नदीको फाइदा उठाउँदै धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लाबाट ल्याई भारततर्फ गाँजा तस्करी हुने गरेको हो । कोसी नदीमा चल्ने डुङ्गा र बाँसको कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भिœयाउने र सुनसरीको सीमावर्ती क्षत्र हुँदै गाँजा भारततर्फ तस्करी गर्ने गरिएको स्रोत बताउँछ ।

पछिल्लो समय गाँजा तस्करी गराउने ‘ट्रान्जिट पोइन्ट’ भण्टाबारी बनेको छ । नेपाल–भारत खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबारले सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसँगको खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार बढ्दै गएकोले यस्ता कारोबार रोक्न सुनसरी प्रहरीलाई चुनौती थपिएको हो ।

ठूलो परिमाणमा लागूऔषध र गाँजाको कारोबारी पक्राउ पर्न थालेपछि सुनसरीमा खुल्ला सीमाको फाइदा उठाएर यस्ता कारोबार भइरहेको पाइएको हो । खासगरी सुनसरीको सीमावर्ती क्षेत्रहरूमा लागूऔषधको कारोबार बढेको पाइन्छ ।

सुनसरीको सीमावर्ती क्षेत्र लौकही, भण्टाबारी, घुस्की, कप्तानगञ्ज, लाहीसहितका नाका प्रयोग गरी दिनहुँ दर्जनौं नेपाली युवाहरू भारतीय बजारमा गएर लागूऔषधको सेवन गर्ने र लागूऔषधको कारोबार गर्ने गरेका छन् । सीमावर्ती क्षेत्रका विभिन्न सीमा नाका हुँदै लागूऔषधको ओसार–पसार बढेकोले भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत चेकजाँचमा थप कडाइ गरेको छ ।

सुनसरीको सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समय प्रहरीले चेकजाँचमा कडाइ गरेपछि भने खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार गर्ने कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको कडा सुरक्षा निगरानीका बीच पनि लागूऔषध र गाँजाको कारोबार रोकिएको भने छैन ।

भण्टाबारी नाकाबाट भारततर्फ गाँजा तस्करी हुने गरेको गुनासो आएको बताउँदै निगरानी बढाएकाले कोही कसैको मिलेमतो भएको पाइएमा कडा कारबाही गरिने सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईंले बताए । खुल्ला सीमाको फाइदा उठाएर गैरकानूनी रूपमा गरिने लागूऔषध कारोबार रोक्न आफू लागिपरेको उनको भनाइ छ ।