विजयपुर । सम्बन्ध विच्छेद भएकी पूर्व पत्नीले सम्पत्तिका लागि आफूलाई जबर्जस्ती करणीको झुटा मुद्दा लगाएको सादा तारेखमा हालै छुटेका भोजराज थापाले आरोप लगाएका छन् ।
सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै धरान–१५ का थापाले आफूलाई पूर्व पत्नीले झुटा मुद्दा लगाएको बताए । करणीको मुद्दामा फसाई आफूलाई पुर्पक्षका लागि जेलसमेत चलान गरिएको भए पनि प्रमाण पुर्याई उच्च अदालतबाट सादा तारेखमा छुटेको थापाले बताए ।
उनी तीन महिना पुर्पक्षका लागि थुनामा रहेका थिए । उनी गत बिहीबार मात्रै छुटेका हुन् । जिल्ला अदालत सुनसरीको २०७८ मङ्सिर ७ गतेको फैसला बदर गर्दै उच्च अदालतले सादा तारेखमा छोड्न आदेश दिएको थियो ।
निवेदकका तर्फबाट अधिवक्ताद्वय भरतबहादुर थापा र ज्ञानेन्द्रबहादुर थापाले बहस गरेका थिए । निवेदकको परीक्षण, मिसिलमा उल्लेखित प्रमाणका आधारमा करणीको प्रमाण नपुग्ने भन्दै सादा तारेखमा छाडेको थियो ।
सादा तारेखमा छुटेपश्चात् पत्रकार सम्मेलनमा उनले आफू अंशबण्डासम्बन्धी फैसला कार्यान्वयनका लागि छोराको जन्मदर्ता लिन जाँदा पूर्व पत्नीले घरमाथि बोलाई कुटपिट गरी बलात्कारको मुद्दामा फसाएको बताए ।