मोरङको पथरीशनिश्चरे नगरपालिकामा जग्गा विवादमा छोराले आमाको हत्या गरेका छन् । नगरपालिकाको २ नम्बर वडाका ४८ वर्षीय कमल श्रेष्ठले ९० वर्षीया आफ्नी आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएका छ ।
कार्यालयका अनुसार माघ १२ गते देखी घरैबाट हराएकी भनिएकी वृद्धाको हत्या पछि जलाएको भन्ने सूचनाको आधारमा सूक्ष्म अनुसन्धान गरी इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई समेत थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाइहरूलाई जानकारी भए पश्चात् अदालतमा मुद्दा समेत परेको तथा अदालतले उक्त जग्गा मध्ये ५ कट्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिसको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको कार्यालयले जनाएका छ ।