भद्रपुर । सशस्त्र प्रहरीले कारसहित २४ लाखको लत्ताकपडा र जुत्ताचप्पल बरामद गरेको छ ।
पूर्वीनाका काँकडभिट्टा आसपास क्षेत्रबाट भन्सार छलेर नेपाल भित्र्याइएको सो मूल्य बराबरको लत्ताकपडा र जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ । गणबाट खटिएको टोलीले शनिबार राति १० बजे सामान बरामद गरेको डिएसपी प्रेमबहादुर भण्डारीले बताए ।
विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर–६ स्थित टोकला चिया बगानअगाडिबाट पश्चिमतर्फ गइरहेको बा.१५ च २७८४ नम्बरको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा सामान फेला पारिएको उनले जनाए ।
कारभित्र प्लाष्टिकको बोरामा प्याक गरी लैजान लागेका विभिन्न प्रकारका लत्ताकपडा र लेडिज जुत्ताचप्पल बरामद गरिएको उनले जानकारी दिए । बरामद गरिएको लत्ताकपडा, जुत्ताचप्पल र कारलाई २४ लाख मूल्याङ्कन तोकेर आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको जनाइएको छ ।
पछिल्लो समयमा पूर्वी नाकाबाट तस्करीको गतिविधि मौलाएपछि प्रहरीले सक्रियता बढाए पनि भद्रपुर क्षेत्रमा भने तस्करी नियन्त्रण हुन सकेको छैन । भद्रपुर श्मसान घाट, नरसिं चियाबगान, झोलुङ्गे पुललगायत आसपासका क्षेत्रबाट मोटर पार्ट्स, खाद्यान्न, सुर्तीजन्य पदार्थ, कपडा नेपालतर्फ र लिभरका सामान, चुरोट आदि भारततर्फ तस्करी भइरहेको छ ।