विराटनगर । सुनसरीको इनरुवामा रहेको एउटा पानी उद्योग सिलबन्दी गरिएको छ । मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि शुक्रबार इनरुवा २ मा रहेको जयप्रकाश जल उद्योग सिलबन्दी गरिएको हो । 
‘जेपी’ ब्राण्डको प्रशोधित पानी उत्पादन गर्ने उद्योगले सरसफाइमा न्यूनतम मापदण्ड पनि पुरा गरेको यसअघि पनि अनुगमनको क्रममा दिएको निर्देशन पालना नगरेको पाइएपछि उद्योग सिलबन्दी गरिएको उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । 

यस्तै अनुगमन टोलीले इनरुवा – ४ मा रहेको आर. एन. डिपार्टमेन्ट स्टोरलाई जरिवाना गरेको छ । भन्सार छली गरेर ल्याएको सामानहरू राखिएको र उक्त बस्तुहरूको बिजबिजक नदेखाएपछि उपभोक्ता संरक्षण ऐन अनुसार डिपार्टमेन्ट स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख पोखरेलले बताए । पछिल्लो समय खुद्रा पसल, होलसेल र डिपार्टमेन्ट स्टोरहरूमा बिस्कुट, चिनी, भुजिया, कुरकुरेलगायतका खाद्यवस्तु क्यारिङ मार्फत भन्सार छली गरि तस्करी गरेर ल्याउने गरेका छन् ।

यसै गरी अनुगमन टोलीले धरान १७ मा रहेको सर्किजल सप्लायर्सलाई पनि २० हजार रुपैयाँ जरिवाना गरिएको छ । एडी ट्रेड एण्ड सप्लायर्सले भन्सार छली गरेर विभिन्न सामाग्रीहरू ल्याएपछि पाइएपछि जरिवाना गरिएको हो । उक्त सप्लायर्सले ‘अन कल एक्स्ट्रा’ ब्राण्डको रगतमा गृकोजको परीक्षण गर्ने सामाग्री विक्रीको लागि राखिएको पाइएको प्रमुख पोखरेलले बताए । तर, उक्त सामाग्रीको भारतदेखि भन्सार छली गरेर ल्याएको र बिजबिजक पनि नभएकोले सप्लायर्सलाई कारबाहीको दायरामा ल्याएको हो ।