धरान । नेपालले भ्रष्टाचार हुने मुलुकमा सुधार गर्न सकेन । यसवर्ष पनि नेपाल ११७ औं स्थानमा रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले मङ्गलबार सन् २०२१ को तथ्याङ्क सार्वजनिक गर्दै नेपाल गतवर्षकै स्थानमा रहेको देखाएको छ । टीआईले १ सय ८० वटा देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारको विषयमा अवधारणा मापन गर्दै सार्वजनिक गरेको हो ।
नेपालले ३३ अङ्क मात्रै प्राप्त गर्दै ११७ औं सूचीमा परेको हो । भ्रष्टाचार बढी हुने मुलुकमा मानवअधिकार र लोकतन्त्रसमेत धरापमा परेको देखाइएको छ । टीआईको तथ्याङ्कमा संसारभरि नै भ्रष्टाचार घट्न नसकेको उल्लेख गरेको छ । उसले ८६ प्रतिशत देशमा एक दशकसम्म भ्रष्टाचार घटाउनका लागि कुनै प्रगति हासिल नगरेको जनाइएको छ ।
यस वर्ष डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार गर्ने देशमा दरिएका छन् । कुल १ सयमा ८८ अङ्क प्राप्त गर्दै कम भ्रष्टाचार हुने मुलुकमा दरिएका हुन् । सबैभन्दा बढी भ्रष्टाचार भएको मुलुकमा साउथ सुडान सूचीकृत भएको छ । उसले ११ अङ्क मात्रै प्राप्त गरेको छ ।
टीआईको सूचकाङ्कअनुसार १ सय अङ्क प्राप्त गर्ने मुलुक भ्रष्टाचाररहित अर्थात् स्वच्छ र शून्य अङ्क प्राप्त गर्ने देश अति भ्रष्टाचार रहेको जनाउँछ । विभिन्न विश्वनीय संस्थाहरूले गरेको अध्ययनका आधारमा टीआईले हरेक वर्ष सूची निकाल्ने गरेको छ । सन् १९९५ देखि प्रत्येक वर्ष यो सूची प्रकाशित हुँदै आएको छ भने नेपाललाई सन् २००४ देखि समावेश गरिएको जनाइएको छ । दुईतिहाइ मुलुकले ५० भन्दा कम अङ्क प्राप्त गरेका छन् ।
यो सूची निकाल्नका लागि टीआईले विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीईएम संस्थाले गरेको सर्वेक्षणका आधार मान्ने गरेको छ । नेपाल भ्रष्टाचार गर्ने मुलुकमध्येमा उपल्लो श्रेणीमा सूचीकृत हुँदै आएको छ । दक्षिण एसियाली राष्ट्रमा भुटान सबैभन्दा कम भ्रष्टाचार गर्ने देशमा पर्छ ।