धनकुटा । पत्नीको हत्या गरी आफ्नै घरमा खाल्डो खनेर पुर्ने धनकुटा नगरपालिका–४ छारागाउँका सीताराम श्रेष्ठ पक्राउ परेका छन् ।
सीतारामले ५२ वर्षीया पत्नी सीताकुमारीलाई कोदालोको पासोले हानेर हत्या गरी घरभित्रै पुरेर फरार भएका थिए । सीताकुमारी पुस १६ गतेदेखि हराइरहेकी थिइन् भने प्रहरीमा पुस २१ गते उजुरी परेको थियो । घटना घटेको २४ दिनपछि पत्नी हत्या आरोपमा उनी ललितपुरको सातदोबाटोस्थित माइली छोरीको घरबाट आइतबार पक्राउ परेका हुन् ।
पक्राउ गरी उनलाई धनकुटा ल्याइएको थियो । पति–पत्नी दुवै मादक पदार्थ सेवन गरी हिँड्ने गरेको स्थानीय बताउँछन् । मातेकै समयमा घरायसी विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सुरज कार्कीले जानकारी दिए । हत्यापश्चात् उनी फरार रहेका थिए ।
फरार श्रेष्ठ घटनापश्चात् भारतको फार्बिसगञ्जतिर भागेका थिए भने माइली छोरीसँग सम्पर्क भई ललितपुर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । श्रेष्ठले आफूले आमालाई केही नगरेको छोरीहरूलाई बताउँदै आएको प्रहरीले जनाएको छ ।
सीतारामले पत्नी सीताकुमारीको हत्या गर्दा उनका कान्छा छोरा उदेश पनि सँगै रहेका थिए । उनले आमालाई पुस १६ गते साँझमा कुटेर जुठेल्नोमा लडाएको देखेको र त्यसपछि भने आमालाई नदेखेको बताए ।
श्रेष्ठ दम्पतीका ४ छोरी र २ छोरा छन् । सीतारामका ८० वर्षीय बुबा लोकबहादुरले आफूलाई घटनाका विषयमा कुनै पनि जानकारी नभएको बताए । बुबा लोकबहादुर र सीतारामको घर बेग्लाबेग्लै भए पनि दुवै घर जोडिएको छ । उनले बुहारी हराएको घटना थाहा भए पनि छोराले यस्तो गर्यो होला जस्तो नलागेको बताए ।
मोरङको लेटाङमा बस्दै आएका सीतारामका भाइ हरिकुमार श्रेष्ठले दाजु र भाउजू पहिलेदेखि नै जाँडरक्सी खाएर झगडा गर्ने गरेको बताए । त्यसैगरी मृतककी कान्छी बहिनी भगवती श्रेष्ठले पनि आफ्नो दिदीलाई सीतारामले अकालमै मारेको बताइन् । उनले आफ्नो दिदीलाई भेनाजुले जति कुटपिट गरे पनि कहिल्यै बाबु माइतीलाई नभनेको बताइन् ।
मृतकका भाइ तेजकुमार श्रेष्ठले आफ्नो दिदीलाई भेनाजुले कुटेरै मारेको आरोप लगाए । मृतकाको कान्छी देउरानी टीका श्रेष्ठले दुवैजना जहिल्यै रक्सी खाएर झगडा गर्ने गरेको सुनाइन् । धनकुटा नगरपालिका वडा नं.४ का वडाध्यक्ष जम्शेर आठपहरियाले पनि श्रीमान् श्रीमती दुवै पहिलेदेखि नै आपसमा झगडा गर्ने गरेको बताएका छन् ।
मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नं.९ घङ्गारु झोडा माइती घर भएकी सीताकुमारी श्रेष्ठको शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल धनकुटामा नै पोष्टमार्टम हुने भए पनि लामो समयसम्म शव खाल्डोमा रहेकाले एक्सपोर्टबाट पोष्टमार्टम गर्न धरान पठाइएको जिल्ला अस्पताल धनकुटाका डा.रुमित झाले बताएका छन् ।