विजयपुर । प्रदेश नं.१ मा आपराधिक क्रियाकलाप बढ्दै गएको छ भने फस्र्यौट हुने दर घट्दो रहेको छ । प्रहरीको अर्धवार्षिक तुलनात्मक तथ्याङ्कले अपराध बढेको र फस्र्यौट हुने दर घटेको देखाएको छ ।

प्रदेश १ का १४ जिल्लामा चालु आर्थिक वर्षको ६ महिनामा कुल ३ हजार ३ सय १८ वटा आपराधिक घटना भएको प्रहरी तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको ६ महिनामा ३ हजार ३ सय १८ वटा मात्रै घटना भएका थिए । गतवर्षको सोही अवधिभन्दा यसपटक ३ सय ९ वटा अपराधका घटना वृद्धि भएको हो ।

प्रहरीले गतवर्ष ६ महिनामा ३ हजार ३ सय १६ वटा अपराधको मुद्दा दर्ता गरेकोमा १ हजार ८ सय ८३ वटा मुद्दा फस्र्यौट गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा भने ३ हजार ६ सय २७ मुद्दा दर्ता भएकोमा १ हजार ३ सय ९६ वटा मात्रै फस्र्यौट गर्न सफल भएको छ । २ हजार २ सय ३१ मुद्दा भने फस्र्यौट हुन बाँकी छन् ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी नवीनराज राई धेरै मुद्दाहरू २ वर्षे अवधिका भएकाले पनि फस्र्यौट कम देखिएको बताउँछन् । उनी भन्छन्, ‘आत्महत्यालगायतका मुद्दाहरू २ वर्ष राख्नु पर्ने हुन्छ ।’  प्रहरी तथ्याङ्कअनुसार ६ महिनामा १ हजार १ सय ६८ जना फरार प्रतिवादी पक्राउ परेका छन्  ।

यो अवधिमा ४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैयाँ राजश्व सङ्कलन भएको छ । भन्सार चोरी–निकासीमा अवैधरूपमा सामान चोरी–निकासी गर्ने ४७ जना पक्राउ परेका छन् । उनीहरूबाट ५ करोड ५८ लाख ८० हजार ५ सय ६७ रुपैयाँ राजश्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको अवैध दोहनमा ३२ जना पक्राउ परेको र ५ सय १५ वटा नदीजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसबाट २० लाख १९ हजार २ सय ५० राजश्व सङ्कलन गरेको छ ।

अवैध काठ चोरी–निकासीमा ४२ जना पक्राउ परेका छन् । यसबाट ४४ लाख ४ हजार ६ सय ६६ राजश्व सङ्कलन भएको छ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा १ लाख ३१ हजार ५ सय ७६ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

कारबाहीबाट कुल ८ करोड ५९ लाख ६४ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कुल १९ करोड ८ लाख ५९ हजार ४ सय ३५ रुपैयाँ राजश्व सङ्कलन गरेको प्रहरीले जनाएको छ ।