विराटनगर। सामूहिक बलात्कारको शिकारमा परेकी मोरङ सुन्दरहरैंचाकी ३१ वर्षीया महिला विराटनगरस्थित कोसी अस्पतालको उपचार कक्षमा गम्भीर अवस्थामा छिन् । बलात्कारको शिकारमा परेकी उनी यतिबेला जीवन मरणको दोसाँधमा अस्पतालको शय्यामा छट्पटाइरहेकी छन् ।
शुक्रबार साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै गरेकी महिलालाई तीन जनाले अपहरणशैलीमा सुन्दरहरैंचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा पुर्याएर सामूहिक बलात्कार गरेका थिए ।
सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जना फरार रहेका छन् । उनको पनि खोजी कार्य भइरहेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।
होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था गम्भीर छ । उनी राम्ररी बोल्न सक्दिनन् । उनलाई कोसी अस्पतालमा भर्ना गरिएको छ । सामूहिक बलात्कारको शिकारमा परेकी छोरीलाई बिहान होटलभित्र अर्धचेत अवस्थामा भेटेको उनका बाबुले बताए ।
‘यौनाङ्गबाट रगत बगेको थियो । शरीरभरि चोटपटक लागेको छ’ छोरीको कुरुवा बसेका बाबुले भने, ‘छोरीको अवस्था अहिले पनि चिन्ताजनक छ ।’ उनी रुने, कराउने, चिच्याउने र बेला बेला बेहोस हुने गर्छिन् । छोरीको शरीरभरि आक्रमणको चोट पटक रहेको छ । उनको जिउभरि निलडामहरू छन् । रातभरको पीडाले छोरी बेहोस थिइन् । कोठा र ओछ्यान रक्ताम्य थियो । कोठामा लडिरहेकी थिइन् । उपचारमा ल्याउने क्रममा रगतले गाडीको सिट नै रक्ताम्य भएको थियो । बलात्कारमा संलग्नले घटना सार्वजनिक गरेमा मारिदिनेसम्मको धम्की दिएको पीडितको गुनासो छ ।
शनिबार बिहान ८ बजेतिर ब्युँझिएपछि होटलमा राखेर मलाई बलात्कार गरेको भनेपछि घटना बाहिर आएको हो । बलात्कृत महिलाको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधि उपचार गर्नसमेत नसकेको पीडितका आफन्तले बताएका छन् । अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रिभा केसीले रक्तस्राव रोक्ने प्रयास जारी रहेको बताइन् ।
‘रक्तस्राव अत्यधिक भइरहेको छ । रगत धेरै बगेका कारण रक्तचाप पनि निक्कै कम भएर गयो’ उनले भनिन्, ‘पीडितको उपचारमा कुनै कमी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं । अवस्था निकै गम्भीर छ ।’
डा. केसीका अनुसार पीडित महिलाको यौनाङ्ग क्षतविक्षत छ । शरीरका विभिन्न भागमा पनि चोटपटक छ । ‘यौनाङ्गमा ठूलो असर पुगेका कारण सिलाइ गर्नुपर्ने हुनसक्छ’ उनले भनिन्, ‘अरू थप समस्याका विषयमा परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै थाहा हुन्छ ।’
पीडितका २ छोरा र २ छोरी छन् । केही दिनदेखि बहिनीकोमा उनीहरू बस्दै आएका थिए । बहिनीको घर जान खोज्दा आरोपितले प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पुर्याएका थिए ।
विभिन्न ठाउँमा घुमाउँदै ती युवाले साँझ ७ बजेतिर महिलालाई होटलमा पुर्याएका थिए । बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर होटलको कोठामा लगेर तीन जनाले नै पालैपालो बलात्कार गरेको खुलेको छ ।
‘होटलमा मलाई पुर्याएपछि बाहिरबाट गेट र ढोका बन्द गरे । सुरुमा अर्जुनले गरेर गएपछि उसको भाइ सुरज आयो । दुवै जनाले गरेपछि अर्को नाम थाहा नभएको लामो कपाल हुने आएर जबरजस्ती गरेर गयो । मैले प्रतिकार गर्न खोज्दा त्यसबेला ममाथि आक्रमण गरेपछि त्यसपछि बेहोस भएँछु’–अस्पतालको शय्यामा रहेकी ती महिलाले भनिन् ।