धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका योग्य तथा सक्षम चिकित्सकहरू पलायन भइरहेकोप्रति धरानको नागरिक समाज तथा बुद्धिजीवीले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय योग्य तथा सक्षम चिकित्सकहरू ‘पलायन’ हुनुको कारण खोजिने भएको छ । धरान–२ मा बुधबार नागरिक समाजसहित राजनीतिक दल तथा धरानका बुद्धिजीवीहरूको छलफलले प्रतिष्ठानमा पछिल्लो समय योग्य तथा सक्षम चिकित्सकमाथि ‘आक्षेप लगाएको कार्यप्रति’ बहृत् छलफल गर्दै चिन्ता व्यक्त गरेका छन् । किन र के कति कारणले योग्य चिकित्सकमाथि आक्षेप लगाउने कार्य भइरहेको छ ? त्यसबारे गम्भीर भएर लाग्नका लागि सहभागीहरूले सुझाव दिएका छन् । ‘राम्रा डाक्टरहरूलाई अड्याउने र गलत प्रवृत्ति भएकाहरूलाई नङ्ग्याउनु पर्छ’ बुद्धिजीवी कुमारबहादुर कार्कीले भने, ‘राम्रा खालका डाक्टरलाई अड्याउने वातावरण सिर्जना गर्नुपर्छ ।’
उनले बीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न नसक्नु सरकारको नालायकीपन भएको बताए । ‘यहाँका पदाधिकारीलाई सरकारले किन कारबाही गर्न सक्दैन, उसले कि पदाधिकारीलाई क्लिन चिट देओस्, कि कारबाही गरोस्’ उनले भने, ‘यहाँका योग्य तथा सक्षम चिकित्सक पलायन भइरहेको विषयमा चाहिँ सरकारलाई तारो बनाएर विज्ञप्ति जारी गर्नुपर्छ ।’
केही दिनअघि बीपी प्रतिष्ठानका हाडजोर्नी विभागका विभागीय प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठमाथि सोही विभागका जुनियर चिकित्सक डा. रोशन कलवारले आक्षेप लगाएकोमा अधिकांश सहभागीले डा. कलवारलाई सामाजिक कारबाही गर्नुपर्ने बताए । अग्रज पत्रकार महेश श्रेष्ठले भने, ‘डा. कलवारले सामाजिक सञ्जालमा विज्ञप्ति नै जारी गरेर घटनालाई उछाल्ने प्रयास गरेका छन्, यस्ता चिकित्सकका विरुद्ध धरानका नागरिक समाज उठ्न जरुरी छ ।’ उनले थपे, ‘अब धराने जनता विज्ञप्तिबाजी भन्दा पनि एक्सनमा जानुपर्छ, पदाधिकारीहरूको कार्यालयमा तालाबन्दी गर्नेसम्मको काम गरेर अगाडि बढ्नुपर्छ ।’
अग्रज पत्रकार हर्ष सुब्बाले डा. कलवारले व्यवसाय गर्दै आएको बताए । डा. कलवार अमेरिकाले दिने निःशुल्क रड प्रतिष्ठानमा कागजी रूपमा दर्ता गराई पैसा कमाउनेतर्फ उद्यत भएको बताए । उक्त रडकै विषयमा विभागीय प्रमुखको हैसियतले प्रा.डा. श्रेष्ठले पैसा लिएको विषयमा विवादित भएकाले उक्त रड प्रयोग नगर्न र प्रयोग गर्नै परेमा बिरामीसँग शुल्क नलिनका लागि निर्देशन दिइएको थियो ।
तर, उक्त कुरालाई बङ्ग्याई डा. कलवारले विभागीय प्रमुख श्रेष्ठले निःशुल्क रड प्रयोग गर्न नदिएको भन्ने आशयको कुरा सामाजिक सञ्जालमा ल्याएका थिए । कार्यक्रममा राजनीतिक दलका तर्फबाट जनता समाजवादी पार्टीका धरान नगरअध्यक्ष ताजुव लिम्बूले प्रतिष्ठानमा बेथितिहरू रहेकाले त्यस्ता बेथितिको अन्त्य गर्न राजनीतिक दलको सदैव ऐक्यबद्धता रहेको बताए ।
कार्यक्रममा बीपी प्रतिष्ठान संयुक्त सङ्घर्ष समितिका संयोजक राजेन्द्र शर्माले बीपीमा सक्षम तथा योग्य चिकित्सकका लागि धराने जनताले साथ दिने बताए । एमालेका नेता मीन सुब्बाले पनि राम्रा र योग्य चिकित्सकहरूको पक्षमा आफू रहेकाले गलत गतिविधि गर्ने चिकित्सकलाई सामाजिक बहिस्कार आवश्यक रहेको बताए । कार्यक्रममा महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङले पनि गलत प्रवृत्ति भएका चिकित्सकहरूको भण्डाफोर गर्न आवश्यक रहेको बताइन् ।
‘डा. कलवारको जबर्जस्तीले समस्या भयो’
निःशुल्क प्रयोग गर्नुपर्ने सामग्रीमा पैसा लिएपछि प्रयोगमा प्रतिबन्ध लगाइएको सामग्री हाडजोर्नी विभागका डा. रोशन कलवारले शल्यक्रियाको क्रममा सोही सामग्री प्रयोग गरेको घटनामा अन्य चिकित्सकहरूले मुख खोलेका छन् ।
अमेरिकी दातृसंस्थाले निःशुल्क दिएको रडमा रकम लिने गरेको घटनापश्चात् विभागले रोक लगाएको थियो । प्रयोग गर्नै पर्ने अवस्था सिर्जना भएमा निःशुल्क लगाइदिन भने पनि डा. कलवारले पुस ९ गतेको शल्यक्रियामा पुनः उक्त रड नै प्रयोग गरेपछि एक बिरामीको शल्यक्रिया गर्न ८ घण्टा लागेको थियो ।
उक्त घटनामा बुधबार विभागीय प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठसहित रुटिन इन्चार्ज रुक्मा श्रेष्ठ, डा. अमित लिम्बू, डा. अमितविक्रम साह, हाडजोर्नी अप्रेशन कक्षका नर्स इन्चार्ज सञ्जु राई, नर्स कविता सुब्बा, सलिना गुरुङ र रेणुका राजवंशीले संयुक्त विज्ञप्ति जारी गर्दै डा. रोशनप्रसाद साह कलवारका त्रुटीका कारणले शल्यक्रियामा लामो समय लागेको उल्लेख गरेका छन् । डा. कलवारले व्यक्तिगत आक्षेप लगाई डाक्टरी तथा नर्सिङ पेशाको छवि, शिष्टाचार र मर्यादाप्रति मानमर्दन गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा डा. कलवारले निःशुल्क प्रदान गर्नुपर्ने साइन कम्पनीको स्टिल बिक्री गरेपछि बिरामीले प्रहरीमा उजुरी दिएका थिए । उजुरीपश्चात् गल्ती स्वीकार गर्दै बिरामीसँग लिएको रकम प्रहरी प्रशासनको अगाडि फिर्ता गरेको समाचार प्रकाशित भएपछि साइन कम्पनीको स्टिल प्रयोग गर्न विभागले नियमन गर्दै जथाभावी प्रयोग नगर्न र गर्नै परे शुल्क नलिन निर्णय गरेको थियो ।
प्रतिष्ठानलाई अनुदानमा प्राप्त ‘नयाँ लट’ को साइन स्टिल विभागमा दाखिला नगरेसम्म डा. कलवारलाई प्रयोग गरी शल्यक्रिया नगर्न र नगराउन विभागीय प्रमुखले पत्राचार गरेको उल्लेख छ । डा. कलवारले विभागको निर्णय र पत्राचारलाई अपमान गर्दै साइन कमपनीको स्टिल प्रयोग गरेको जनाइएको छ ।
विज्ञप्तिमा डा. कलवारले शल्यक्रिया कक्षमा स्टिल आफैले लगेर अटोक्लेभ गर्न थालेपछि डा. अमित लिम्बू, डा. अमितविक्रम साह, नर्सिङ स्टाफ अर्थो ओटी इन्चार्ज र पूरा ओटी इन्चार्जले अनुरोध गरेको उल्लेख छ ।
बिहीबारको शल्यक्रियामा सुरुमा हलो कम्पनीको स्टिलको तयारी गरेको तर, अन्त्यमा डा. कलवारले बदनियतपूर्ण रूपमा साइनको स्टिल प्रयोग गरेको जनाइएको छ । डा. कलवारले निःशुल्क रडमा रकम लिने गरेको पाइएपछि एनेस्थेजियोलजी विभागका प्रमुख, सिस्टर इन्चार्जलाई प्रयोग नगर्न पत्राचार गरिएको थियो ।
विज्ञप्तिमा डा. कलवारले आफैले गरेको गल्ती वा प्राविधिक गल्ती सच्याउन सहयोग गर्दा डा. अमितविक्रम साहमाथि साम्प्रदायिक घृणायुक्त शब्दहरू प्रयोग गर्दै धम्कीसमेत दिएको उल्लेख छ । डा. कलवारले प्रतिष्ठानको परिपत्रविपरीत सामाजिक सञ्जालमा कुप्रचार गरी सहकर्मीहरूविरुद्ध बिरामी र बिरामी कुरुवाहरूमा अफवाह फैलाएर तथा स्वास्थ्यकर्मीहरूको सुरक्षामाथि गम्भीर खेलवाड गरेको उल्लेख छ ।
बिहीबारको विवादका विषयमा निर्देशकसहित उपनिर्देशकबीच छलफल हुँदा निर्देशकले साइन स्टिल स्टोरमा दाखिला गरी तत्काल समस्याको समाधान गर्ने भएको तर, डा. कलवारले नमानेको विज्ञप्तिमा उल्लेख छ । साथै माघ १ गते बिदाका दिन हाडजोर्नी विभागका ओटी इन्चार्ज सञ्जु राईलाई फोन गरी विभिन्न प्रश्न गरी फोन रेकर्ड गरी सुनियोजित रूपमा फसाउने मनसायले सामाजिक सञ्जालमा सार्वजनिक गरेको जनाइएको छ । डा. लिम्बूलाई ‘धराने गुण्डा’ ले गाली गरेको र विज्ञप्तिसमेत सार्वजनिक गरेको उल्लेख गरेका छन् ।
प्रतिष्ठाको हाडजोर्नी विभागमा पुस २९ गते बिहीबार कल्याणपुर नगरपालिका–११ का ललितकुमार साहको शल्यक्रिया गर्दा चिकित्सको मतभेदले स्टिल झिक्नुपरेको थियो । उनीहरूको विवादका कारणले ३ घण्टामा हुने शल्यक्रियालाई ८ घण्टा लागेको थियो ।