भद्रपुर । भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको करीब १० लाख मूल्य बराबरको मोटर पार्टस् र कारसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसोे मेचीनगर नगरपालिका वडा नं. १२ स्थित सहरेडाँगी चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा ईलाम सूर्योदय नगरपालिका वडा नं २ बस्ने मनोज खड्काले चलाई ल्याएको बा ४ च ३०९ नं. को वेगनर कारलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको मोटर पार्ट्सका सामानहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना पछि आवश्यक कारबाहीको लागि सामानसहित खड्का र कारलाई काँकडभिट्टा भन्सार कार्यालयमा दाखिला गरिएको जिल्लाका डिएसपी बसन्त पाठकले बताए । दाखिला गरिएको सामानको ९ लाख ९२ हजार ८ सय ७० रुपैयाँ भन्सार मूल्याङ्कन कायम भएको जानकारी दिए ।
त्यसैगरी प्रहरीले १६ कार्टुन माछा र अवैध काठ बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान गौरादह नगरपालिका– ३ स्थित सहिद गेट अगाडी भारतबाट अवैध रुपमा लुकाइछिपाई भन्सार छलेर नेपाल भित्राइएको १६ कार्टुन माछा बरामद गरेको थियो ।
बरामद गरिएको माछा मे १ च ३६३२ नम्बरको छोटा हात्ती नामक (पिकअप) गाडीमा हालेर लगिरहेको अवस्थामा प्रहरीले बरामद गरेको पाठकले जानकारी दिए । माछाको नेपाली बजार मूल्य एक लाख ९२ हजार रहेको जनाइएको छ । पशु क्वारेनटाइन चेकजाँच बिना माछा भारतबाट ल्याउन नेपालमा प्रतिबन्धित छ ।
बरामद गरिएको ६४० केजी माछालाई इलाका प्रहरी कार्यालय गौरादहमा नष्ट गरिएको उनले बताए । माछाको नेपाली बजार मूल्य एक लाख ९२ हजार रहेको जनाइएको छ । त्यस्तै प्रहरीले शनिबार दिउँसो १२ बजे बुद्धशान्ति गाउँपालिका– १ स्थित दामा खोलाबाट सखुवा जातको गोलिया काठ बरामद गरेको उनले जानकारी दिए ।