धरान । ‘देवलोकमा भ्वाङ परेकाले सिमेन्टले टाल्नुपर्ने भयो । त्यसका लागि पृथ्वीलोकबाट सिमेन्ट किन्न पैसा चाहिएको छ । भक्तजनले सक्दो रकम उठाउनू । पृथ्वीलोकमा पैसाको जरुरत छैन, अहिले देवलोकमा पैसाको जरुरत छ ।’

यो भनाइ सुन्दा अनौठो लाग्न सक्छ । तर, भनाइ अरू कसैको नभएर आफूलाई ‘महामानव पिता’ भनेर चिनाउने ७३ वर्षीय टीकाप्रसाद विश्वकर्माको हो । उनले आफूले आफैलाई ‘सर्वपूज्य अनाकार अनन्त निराकार निरञ्जन शिवज्योति महामानव पिता’ भनेर अलङ्कृत गरेर अनुयायीहरूलाई अलौकिक शक्तिले भरिपूर्ण बनाइदिने प्रलोभन देखाउने गरेका छन् । उनले देखाउने प्रलोभन भनेको अरू केही नभएर मध्यराति वराहक्षेत्र नगरपालिका–६ स्थित जब्दीमा रहेको ज्योति शिव सेवा केन्द्रनजिकैको सप्तकोसी किनारमा देवलोकका देवता बोलाएर देखाउने, कोरोना महामारीबाट पापीहरू नष्ट गर्ने आफूले निर्णय गरेको, कोही जस्तोसुकै रोगी बिरामी भए पनि मन्त्र फुकेर निको पार्ने, पहिले मरिसकेका पितृहरूलाई देखाउने, बोलाउने हो ।

thagi111

कोसी किनारमा रातिको समयमा देवलोकबाट देउता बोलाएर देखाउने, मरिसकेका पितृहरू देखाउने र बोल्न लगाउने गरेका कथित महामानव पितालाई त्यहीँका उनका आफन्त र भाडामा लिएका व्यक्तिहरू नै नाटकीयशैलीमा देवलोकका देउता, पितृ बनेर आएको रहस्य खुले पछि टीकाप्रसाद विश्वकर्मा महामानव पिता नभएर महाठग भएको निष्कर्ष निकालेको मल्लले बताए ।

पहिले मरिसकेका आफन्त र पितृसँग भेट हुने र अलौकिक शक्ति प्राप्त हुने लोभमा परेर अनुयायीहरू भने १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म दिएर भ्रमित बनिरहेका छन् । केही वर्ष अघिसम्म धरान–१५ एभरेष्टलाइनमा ६० लाख रुपैयाँमा एकतले घर किनेर बसेका कथित महामानव पिता उर्फ टीकाप्रसाद विश्वकर्माले धर्म र ईश्वरको नाम बेचेर सर्वसाधारणलाई पङ्गु बनाउँदै आएका थिए । पछिल्लो समयमा उनी वराहक्षेत्रको जब्दीमा डेरा जमाएर बसेपछि आफन्त र केही व्यक्तिलाई भाडामा लिएर सेटिङ गरी सप्तकोसीबाट देवलोकका देवता निकालेर देखाउने पेशा गर्दागर्दै उनको पोल उनैका अनुयायीहरूले खोलेका छन् ।

महामानव पिताको पछि लाग्दा अलौकिक शक्ति प्राप्त हुन्छ भन्ने भ्रम पालेका अनुयायीहरूमध्ये १२ जना बढीले बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै आफूहरू धर्म र ईश्वरको नाममा महामानव पिताले ठगी मच्चाएको आरोप लगाएका छन् । करिब एक दशकको अवधिमा देउताको शक्तिले भरिपूर्ण बनाइदिने भनेर भेटी स्वरूप कसैको ५ लाख रुपैयाँ त कसैको २० लाख रुपैयाँसम्म खाइदिए पनि अलौकिक शक्ति प्राप्ति पनि नभएको र हालसम्म कुनै पनि रोगी बिरामीलाई निको बनाउन नसकेपछि अनुयायीहरूले पोल खोलिदिएका छन् ।

पत्रकार सम्मेलनमा धरान–९ बस्ने महामानव पिता र माता निलममाया मगर पीडित पटेल सिंह (पञ्जावी–नेपाली) ले भने, ‘देवलोकका देवताहरू सप्तकोसीको किनारको पानीबाट निकालेर देखाएको भनेर कैयौंपटक सर्वसाधारण अनुयायीहरूलाई  देखाए । ती देवलोकका देवता भनिएकाहरू ८, ९, १०, ११ वर्ष उमेर समूहका बालबालिका थिए । रातको समयमा कोसी किनारको पानीबाट निथ्रुक्कै भिजेको अवस्थामा निकालेर देखाउने गरेका थिए ।’

देवलोकका देवता हेर्नका लागि रातको ११ बजेपछि मात्र कार्यक्रम गरिन्थ्यो । पानीमा भिजेर निस्केका ती बालबालिकाहरूले कट्टुमात्र लगाएका हुन्थे । कसैले सोधेमा महामानव पिताले भन्थे, ‘पृथ्वीमा पो बालबालिकाले लुगा लगाउँछन् । देवलोकमा त्यस्तो हुँदैन र नाङ्गै हुन्छन् । उनीहरू देवलोकबाट सिधै पानीमा झरेर भिजेका हुन् । अनि पृथ्वीका मानिसलाई अनौठो देखेर देवलोकका साना देवताहरू हाँसेका हुन् ।’ तैपनि सबैले मानेका पिताको बोलीलाई विश्वास गरेर देवलोकका देवता रातमा भए पनि देख्न पाइयो भनेर हातमा लगाएको सुनको औंठी, भेटीस्वरूप नगद चढाउने गरेको पीडितहरूले बताए ।

महामानव पिता विश्वकर्मा र माता मगरबाट पीडित बनेका धरान–९ बस्ने पटेलसिंह धरान–१५ बाँझगरास्थित केके इन्टरनेसनल स्कुलका विद्यार्थी बोक्ने बसका चालक भए पनि उनको श्रीमती सरिता कौर बिरामी भएपछि उपचार गर्ने सिलसिलामा महामानव पिताको शरणमा पुगेपछि ठगिएको बताए । सिंह र कौर दम्पतीले पाँच–पाँच लाख रुपैयाँ गरेर १० लाख रुपैयाँ ठगिएको बताए । सिंहले श्रीमती निको भइनन् । जति बेला दर्शन गर्दा पनि पैसा र सुन–चाँदी मात्र चढाउनु पर्ने तर, पछि मात्र आँखा खुल्यो । त्यसबेलासम्ममा सम्पत्ति गुमाइसकियो । ती त महाठग रहेछन् भनेर बल्ल थाहा भयो ।’

विश्वकर्माले आफूलाई भगवान् सम्झेर पैसा, सुन–चाँदी, जग्गा जमिन अर्पण गरेमा सबैलाई अलौकिक शक्ति प्राप्त हुने बताउने गरेकाले सजिलै फस्ने गरेको पीडितहरूले बताए । महामानव पिता उर्फ टीकाप्रसाद विश्वकर्माबाट ठगिएका पीडितहरू धरानमा भेला भएर कथित महामानव पिताको भण्डाफोर गर्दै उनीहरूले आफूहरूलाई भ्रममा पारेर आर्थिक र भौतिक सम्पत्ति ठगी गरेको बताए ।

पत्रकार सम्मेलनमा धरान–८ का ५४ वर्षीय सीताराम मल्लले १३ वर्षअघि श्रीमती बिरामी भएपछि औषधोउपचार गर्ने सिलसिलामा विश्वकर्माकोमा पुगेको बताए । उनको विश्वासमा लाग्दा आफ्नो १५ लाख रुपैयाँभन्दा बढी खर्च भएको मल्लले बताए । उनले भने, ‘पहिले ठग भनेर थाहा नहुँदा उनले आफूलाई ‘ब्रह्मा, विष्णु, महेश्वरदेखि सृष्टीकर्ता नै  मै हुँ’ भनेर विश्वास दिलाउँथे । म तिमीहरूको आत्मामा देउता लगाइदिएर देउता बनाइदिन्छु भन्थे । मलाई जगदीश्वर शङ्कर देवको आत्मा लगाइदिएको छु भन्थे । जहिल्यै भेटपिच्छे दर्शन गर्दा भेटी चढाउँदा गतवर्षसम्ममा १५ लाख रुपैयाँ सकियो । पैसा दिन छाडेपछि मलाई जुम्रे शङ्कर भन्न थाले । सुकेर मर्छस् भन्न थाले ।’

विश्वकर्माले वराहक्षेत्रको चतराघाट नजिकै कोसी किनारक्षेत्र रोज्ने गरेका छन् । महिलालाई सरस्वती, कालीदेवी, ज्वालादेवी, लक्ष्मी, दुर्गाको आत्मा लगाइदिएर देवता बनाएको दाबी गर्दै अनुयायीहरूलाई मख्ख बनाउने गरेको मल्लले बताए । पुरुषलाई पुरुष देवता बनाइदिएर अलौकिक शक्ति प्राप्ति हुने दाबी गर्ने गरेको पनि मल्लले बताए । 

उनले भने, ‘देवलोकमा भ्वाङ परेको छ । सिमेन्टले टाल्नका लागि पैसा चाहियो । सुन–चाँदी नगद दिएर सहयोग गर भन्थे । हामीले पनि होला नि त धर्म होला भनेर जीवनभर नखाई नखाई बचाएर राखेको सम्पत्ति दिने गरेका थियौं ।’

उनका अनुसार एक पटक महामानवले देवलोकमा पैसा पठाउने भनेर पैसा लिएर हिँडे । उनले चालै नपाई मल्लले पछ्याउँदै जाँदा तिनै महामानव पिताका छोराको भैंसी गोठमा पो मस्त पल्टिएको भेटिएका थिए । देवलोकका देउता र साना देउता भनेर राति देखाइएकाहरू, अनुयायीहरूलाई चकित पार्न नदी आसपास आगो बाल्न, मुखमा मट्टीतेल राखेर आगो भुर्र पार्न भाडामा अरू मानिस तयार गर्ने गरेको पनि पत्ता लागेपछि महामानव पिता महादानव पितामा दरिएको पीडितहरूले बताए ।

धरान–१५ महादेवचोककी ५१ वर्षीया मथुरा थापाले त महामानव पिताको नाममा भेटी मात्र २० लाख रुपैयाँ चढाएको बताइन् । तैपनि उनको शारीरिक, मानसिक रोग निको भएको छैन । महामानव पिता भन्ने विश्वकर्माले थापाको आत्माबाट देवता निकालिदिएकाले निको नभएको बताउँदै आएका छन् ।

महामानव पिताले धरानदेखि काठमाडौं, पोखरासम्मका अनुयायी मात्र नठगेर फ्रान्स र अमेरिकाका नागरिकलाई समेत ठग्न भ्याएको धरान–१३ पशुपतिमार्गकी शान्ति लामिछानेले बताइन् । उनले भनिन्, ‘०७० सालको माघमा बिरामी परेपछि निको हुने उपाय खोज्दै महामानव पिताकोमा जानु भन्ने सल्लाह पाएअनुसार फूल, अक्षता र केही भेटी पैसा लिएर गएँ । उनलाई मैले सपनामा बारम्बार सरस्वती देवी देख्ने गरेको बताउँदा टाउकोमा हात राखेर तिम्रो आत्मामा सरस्वती बसेकी छिन् भनेर मेरो नाम नै सरस्वती देवी राखिदिए । तिमीलाई अब अलौकिक शक्ति प्राप्त हुन्छ भनेर आश्वस्त बनाए ।’

धरान–१९ चौकीबारी बस्ने खड्गबहादुर विश्वकर्मा र उनका पूर्व ब्रिटिस गोर्खा सैनिक भाइ तिलबहादुर सेन्च्युरीले चतरा नजिकैको पुल्ठेगौंडामा रहेको आफ्नो अविवाहित वृद्धा फुपूलाई अचेत पारेर सहीछाप गराएर जग्गा कब्जा गरेको बताए । उनीहरूका फुपूले डेढ बिघा जग्गा भोगचलन गर्दै आएकी थिइन् । बिरामी फुपूलाई थप उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउनसमेत दिइएन तर, पछि जसोतसो गरेर धरान ल्याएर उपचार गरी अहिले होसमा ल्याएका छौं । होसमा आएपछि फुपूले उक्त जग्गा महामानव पिता भन्ने टीकाप्रसादलाई नदिएको जानकारी दिएको सेन्च्युरीले बताए । 

महामानवबाट आजित भएर पीडितहरूले वराहक्षेत्रको महेन्द्रनगरस्थित चक्रघट्टीको इलाका प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा उजुरी दर्ता गर्न र अनुसन्धान गर्न आनाकानी गरेको पनि पीडितहरूले बताए । प्रहरीले त उल्टै ‘आपसमा मिल्न’ मात्र दबाव दिएको पीडितहरूले बताए । प्रहरीले पनि चासो नदिएपछि वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालकोमा पुगेर पनि गुनासो गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयमा पीडितहरू बुधबार उजुरी दिन पुगे पनि जिल्ला प्रशासनले पुस २१ गतेको मितिमा वराहक्षेत्र नगरपालिकालाई पत्र लेख्दै सत्य–तथ्य के हो, खुलाई प्रतिवेदन दिनू मात्र भनेपछि पीडितहरू झन् अलमल्लमा परेको बताए । विश्वकर्मा गत असारदेखि काठमाडौंको बल्खुमा बस्न थालेको बताइएको छ । यसअघि ०६८ सालमा उनका अनुयायीहरूले वराहक्षेत्रकै महेन्द्रनगरमा मन्दिर बनाउन भनेर साढे ७ कठ्ठा जग्गा २५ लाखमा खरिद गरेका थिए । तर उक्त जग्गा ३० वर्षीया निलममाया मगरको नाममा रहेको छ ।

महामानव पिता र माताले फोन सम्पर्कमा आफूले कसैलाई आर्थिक रूपमा नठगेको बताए । ब्लाष्टको जिज्ञासामा महामानव पिताको भनाइ थियो, ‘मैले कसैलाई ठगेको छैन । कुनै अनुयायीको पैसा लिएको पनि छैन । उनीहरूको खुसीले दिएको र, चढाएको रकममात्र लिएको हो ।’ उनले आफूलाई ठगीको आरोप लगाउनेहरू आफै पागल बिरामी भएर आउने गरेको र उनीहरूको शिरमा हात राखेर निको पार्ने गरेको दाबी गरे । उनले भने, ‘मैले त्यस्ता बिरामीलाई शिरमा हात राखेर, छोएर निको पार्ने गरेको छु । बरु मसँग सीताराम मल्लले पाँच लाख रुपैयाँ माग्दा नदिएपछि गलत आरोप लगाएको हो ।’

निलममाया मगरले भने आफू देवी भएको बताइन् । उनले ती व्यक्तिहरूले गलत लाञ्छना लगाएको मात्र बताइन् । महामानव पिताकोमा बिरामी ल्याउने, अरू भक्तजन ल्याउने काम दश–दश वर्षसम्म उनीहरूले नै गरेका हुन् ।’ उनले आफू र महामानव पिता आफ्नो पिता भएको बताइन् । उनले भनिन्, ‘उहाँ मेरो पिता हुन् । मथुराले पनि मलाई पाँच लाख रुपैयाँ मागेका थिए । नदिँदा आक्षेप लगाएका मात्र हुन् ।’