सुनसरी। इटहरी उपमहानगरपालिका-२० स्थितबाट गाँजासहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका-१ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई रहेका छन् ।

राती साढे १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोकस्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीलाई देखि  प्रदेश १-०२-०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा सङ्का लागि दुवैजनालाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।  उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो ।

गाँजासहित पक्राउ परेका बिक्रम राई र संजिव राईको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।