विजयपुर । प्रदेश १ का १४ जिल्लामा यातायातका साधन मोटरसाइकल तथा स्कुटर चोरीका घटना तीव्र रूपमा बढेका छन् । चोरी नियन्त्रण गर्न र हराएको साधन फेला पार्नमा भने प्रहरी असफलजस्तै देखिएको छ ।
पुस ९ गते झापा दमकमा किरण न्यौपानेको मे.१ प ५८८३ नम्बरको टिभिएस मोटरसाइकल चोरी भयो । झापा राजगढमा सोही दिन विकास कौलको ज.८ प ५५९९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल हरायो । एकैदिन हराएका दुवै मोटरसाइकल खोजीका लागि निवेदन परे पनि प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
पुस १४ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन वार्डपरिसरमा पार्किङ गरेको धरानका गोविन्द बस्नेतको को.१४ प ८६१८ नम्बरको स्प्लेन्डर मोटरसाइकल चोरी भयो । प्रतिष्ठानमा सुरक्षागार्ड तथा प्रहरीसेमत सुरक्षाका लागि खटिएका हुन्छन् । यस्तो सुरक्षा व्यवस्था भएको स्थानबाटै मोटरसाइकल, स्कुटर चोरी हुनु र प्रहरीले पत्ता लगाउन नसक्नुले सुरक्षा संयन्त्र र प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ ।
यी त प्रतिनिधिमूलक चोरीका घटना मात्रै हुन् । प्रदेशभरमा औषतमा प्रत्येक महिना २७ वटा मोटरसाइकल तथा स्कुटर चोरी भएको प्रदेश प्रहरीको तथ्याङ्कले देखाउँछ । तर, प्रहरीले खोज अनुसन्धान गरी महिनामा ५ वटा मात्रै फेला पार्ने गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कले चालु आर्थिक वर्षको ५ महिनामा मोटरसाइकल तथा स्कुटर चोरी हुने दरमा तेब्बर वृद्धि भएको देखाउँछ । तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ५ महिनामा कुल १ सय ३४ वटा मोटरसाइकल तथा स्कुटर चोरी भएका छन् ।
जसमध्ये २० वटा मात्रै प्रहरीले फेला पार्न सफल भएको छ । कुल चोरी भएका यातायातका साधनको १४ दशमलव ९२ प्रतिशत मात्रै प्रहरीले फेला पारेको छ । यसरी चोरीको दर बढ्नुमा साधन धनीको लापरबाही, जता पायो, त्यतै पार्किङ गर्नु पनि मुख्य कारण रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । उनले भने, ‘प्रहरी सबै ठाउँमा पुग्न सक्दैन । हेण्डल लक नगर्नु, पार्किङ ठीक ठाउँमा नगर्नु नै चोरीको दर बढ्ने कारण हुन् ।’
प्रदेश प्रहरीको तथ्याङ्कअनुसार साउन महिनामा १३ वटा मोटरसाइकल तथा स्कुटर चोरी भएको देखिन्छ । जसमध्ये ६ वटा मात्रै प्रहरीले फेला पार्न सफल भएको छ । यो चोरी भएका यातायातका साधनको ४६ दशमलव १५ प्रतिशत हो । भदौ महिनामा कुल २८ वटा मोटरसाइकल र स्कुटर चोरी भएका छन् ।
जसमध्ये ४ वटा मात्रै प्रहरीले फेला पारेको छ । यो १४ दशमलव २८ प्रतिशत हो । असोज महिनामा १९ वटा यातायातका साधनहरू चोरी भएका छन् । जसमा ३ वटा मात्रै प्रहरीले फेला पारेको छ । जुन १५ दशमलव ७८ प्रतिशत मात्रै हो । कात्तिक महिनामा ३६ वटा मोटरसाइकल तथा स्कुटर चोरी भएका छन् । जसमध्ये प्रहरीले ५ वटा मात्रै साधन फेला पारेको छ । यो १३ दशमलव ८८ प्रतिशत हो ।
यस्तै मङ्सिर महिनामा ३८ वटा मोटरसाइकल तथा स्कुटर हराएका छन् । जसमा २ वटा मात्रै प्रहरीले फेला पारी धनीलाई बुझाएको छ । यो ५ दशमलव २६ प्रतिशत मात्रै हो । यसरी महिनैपिच्छे चोरीको दर बढ्नु, प्रहरीले चोरी नियन्त्रण गर्न नसक्नु र चोरी भएका साधन घट्दो दरमा फेला पर्नुले प्रहरी सुरक्षा संयन्त्रमा प्रश्न उठेको छ ।
प्रदेश प्रहरी प्रवक्ता राई भने चोरी भएको जानकारी समयमा नपाउनाले पनि फेला पार्न नसकिएको बताउँछन् । उनले भने, ‘चोरीबारे समयमै प्रहरीलाई जानकारी हुँदैन । जसले तत्काल खोजी गर्न पाइँदैन । धेरै समय भइसकेपछि फेला पार्न गाह्रो हुन्छ ।’ यातायातका साधन चोरी नियन्त्रण असफलभन्दा पनि चुनौती उत्पन्न भएको उनी स्वीकार्छन् ।