विराटनगर। स्रोत नखुलेको ५० लाख रूपैयाँसहित सौर्य एयरका स्टेसन म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित सौर्य एयरको विराटनगरस्थित स्टेसन मेनेजेर प्रकाश पौडेल र सौर्य एयरलाइन्सको काठमाडौंमा एसिष्टेन्टसमेत रहेकी विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्य पक्राउ परेकी हुन् ।

शनिबार दिउँसो पौने २ बजे विमानस्थलबाट ५० लाख रूपैयाँ बरामद भएपछि सौर्य एयरलाइन्सका कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । विराटनगरबाट उडेको सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम बरामद भएको हो । सादा पोसाकमा खटिएको प्रहरीले रातो रङको भद्रपुर लेखिएको झोला चेक गर्दा प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र स्रोत नखुलेको रकम बरामद भएको हो ।

एक हजार दरका ४ हजार ९ सय ५० वटा र पाँच सय दरका १ सयवटा गरी ५० लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । सो रकम लिन आएको आरोपमा शाक्यलाई प्रहरीले पक्राउ गरेको हो भने सौर्य एयरको विराटनगरस्थित स्टेसन मेनेजेर पौडेलले सो झोला राखेको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

सौर्य एयरलाइन्सको १ः३० बजेको उडानमा सुरक्षा जाँच नै नगराई पठाएको पोकामा काठमाडौं विमानस्थलबाट ५० लाख नगद बरामद भएपछि पौडेललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले बताए । प्रहरीका अनुसार विराटनगर–१० का पौडेलले सुरक्षा जाँच नै नगराई पोका विमानमा राखेको शङ्का लागेपछि प्रहरीले सोधखोज गर्दागर्दैमा विमान उडेपछि काठमाडौंमा खबर गरेर चेकजाँच गर्न लगाउँदा रकम बरामद भएको हो ।

शङ्कास्पद रकम चेक नगरिकनै पठाएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । विराटनगरमा चेक नगरी झोला विमानमा हालेको विराटनगर विमानस्थलमा खटिएको प्रहरीले दिएको सूचनापछि चेक गर्दा ५० लाख भेटिएको विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

स्टेशन मेनेजर पौडेलले विमान उड्न लागेपछि ५० लाख रकम भएको झोला विमानमा हालेको प्रहरीले जनाएको छ । बरामद गरेको रकम हुण्डीको भएको आशङ्का गरिएको छ । ‘बरामद भएको रकम हुण्डी हुनसक्ने आशङ्का गरिएको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘यसतर्फ पनि हामीले अनुसन्धान सुरु गरेका छौं ।’  सौर्य एयरलाइन्समा लगानीकर्तामध्ये एक जना भारतीय नागरिक पनि छन् ।

हुण्डीमार्फत् आएको रकम हुनसक्ने र गन्तव्यमा पु¥याउने क्रममा बरामद भएकोले यसतर्फ पनि अनुसन्धानको दायरा बढाएको स्रोतले जानकारी दिएको छ । उक्त रकम कम्पनीको हो वा अवैध हो भन्नेबारे अनुसन्धानबाट खुल्ने मोरङ प्रहरी प्रमुख एसपी जिसीले बताए ।

बरामद भएको नगद र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाएको जनाएको छ । नेपालमा १० लाखभन्दा बढीको कारोबार बैङ्किङ प्रणालीमार्फत् गर्नुपर्ने कानूनी प्रावधान छ । सौर्य एयरलाइन्सले काठमाडौं–विराटनगर दैनिक दुईवटा उडान गर्दै आएको छ ।