धनकुटा/ धनकुटा नगरपालिका–९ छिम्सुवा घरका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय दश वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका २० वर्षीय गोपी बस्नेतलाई पक्राउ गरिएको हो । घटनालगत्तै पीडित परिवारको तर्फबाट प्रहरीमा उजुरी परेपछि फरार रहेका बस्नेतलाई प्रहरीले मोरङको नेपाल–भारत सीमाक्षेत्रबाट शुक्रबार पक्राउ गरेको हो ।
बलात्कारको घटना असोज ९ गते दिउँसो भएको थियो । घट्ना घटेको करिब तीन महिनापछि फरार बस्नेत पक्राउ परेका हुन् । घरबाट केही पर जङ्गलमा बालिका गोठालो गएको मौकामा बस्नेतले बलात्कार गरेको पीडित बालिकाको आरोप छ ।
घटनापछि तत्काल बालिकाले परिवारलाई जानकारी गराएकाले अविभावकले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएको थाहा पाएपछि बस्नेत घरबाट गायब भएका थिए ।
पीडित परिवारको उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दा मोरङ जिल्लाको सीमावर्ती क्षेत्रबाट फरार रहेका बस्नेत पक्राउ परेको धनकुटा प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जनाएका छन् ।
पक्राउ परेका बस्नेतविरुद्ध जबर्जस्ती करणीको मुद्दा दायर भएको छ । उनलाई अदालतबाट म्याद थप गरी घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।