भद्रपुर । स्थानीय तहले तोकेको मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन भइरहे पनि भद्रपुर नगरपालिकाले कुनै चासो देखाएको छैन । नदीमा बनाइएका पुलमा क्षति नहोस् भनेर पुलको दायाँ बायाँ या तलमाथि ५ सय मिटरको दुरी छाडेर मात्र उत्खनन गर्नु पर्नेमा ठेकेदारले सो नियम विपरीत काम गर्दा समेत भद्रपुर नगरका जनप्रतिनिधि ,कर्मचारीलाई कुनै चासो नभएको हो ।

 भद्रपुर नगरपालिका अन्तर्गत पर्ने हडिया नदीमा निर्माण भएको पक्की पुल नजिकै नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । दैनिक रूपमा सो क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन भइरहँदा समेत स्थानीय प्रहरी समेत मूकदर्शक वनेका छन् । 

 वार्षिक रूपमा नगरपालिकाले ठेक्का लगाउँछ अनि चुपचाप । कुन क्षेत्रमा कति घनमीटर उत्खनन भयो भन्ने कुनै तथ्याङ्क नगरपालिकाको सम्बन्धित फाँटमा जानकारी छैन । नगरपालिकाले तोकेको ठेक्का रकम भन्दा पाँच गुणा बढी डाँक वडावडमा स्थानीय ठेकेदारले रकम तोकेपछि सो रकम कहाँबाट असुल उपर हुन्छ होला सहजै अनुमान लगाउन सकिन्छ ।

आइईई गरिएको क्षेत्र भनिए पनि त्यसको वरिपरि ठेकेदारले उत्खनन गर्दै आइरहेका छन् । त्यति मात्र नभई तोकिएको घनमीटर भन्दा बढी उत्खनन भइरहेको छ । खोला दोहनको विषयलाई लिएर केही हप्ता अघि हडिया र निन्दा दोभानमा व्यवसायीबिच विवाद उत्कर्षमा पुगेको थियो । विवाद सार्वजनिक भएपछि दुवै व्यवसायीको कर्तुत बाहिर निस्कने भयले हाल समाधान भएको बुझिएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२९क० र नगरपालिकाको आर्थिक ऐन ,आन्तरीक आय सङ्कलन९ठेक्का वन्दोवस्ती० कार्यविधि २०७५ ,ढुङ्गा गिटी,बालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा नगर कार्यपालिकाको ०७८ असोज १ गते को निर्णय अनुसार अद्यावधिक आइईई प्रतिवेदनमा उल्लेखित नदीहरूको स्वीकृत घाटहरूमा निर्धारित मापदण्ड बमोजिम नदीजन्य सामग्री उत्खनन गर्ने गरी ठेक्का लगाएको छ ।

नगरपालिकाले मेची नदी प्याकेज नम्बर १ अन्तर्गत २३ हजार ५ सय घनमीटर उत्खननका लागि ३४ लाख १ हजार ७ सय १७ रुपैयाँ ३७ पैसा ,हडिया तथा निन्दा खोला प्याकेज नम्बर २ मा १२ हजार ३ सय ७५ घनमीटरका लागि १५ लाख ९५ हजार १ सय ३४ रुपैयाँ ४१ पैसा र ३ नम्बर प्याकेज अन्तर्गत देवनियाँ खोलमा ६ हजार घनमीटरका लागि ९ लाख १ हजार ८ सय ५६ रुपैयाँ ८१ पैसा गरी भ्याट बाहेक करिब ५९ लाख रुपैयाँमा ठेक्का खुलाए पनि डाक बढाबढका कारण १ करोड २४ लाख ५३ हजार  ३ सय ५ रुपैयाँमा ठेक्का लागेको नगरपालिका राजस्व शाखाले जनाएको छ । 

कति परिमाणमा नदीजन्य  पदार्थ उत्खनन भयो भन्ने विषयमा ठेकेदारलाई पत्र काटिएको राजस्व शाखाका कर्मचारी सुशील कर्णले बताए । प्रत्येक महिनाको ७ गते भित्र ठेकेदारले उत्खननको परिमाण बुझाउनु पर्नेमा हालसम्म नबुझाएकोले पुनः दोसो पत्र काटिने उनले जानकारी दिए । केही दिनमा अनुगमनमा जाने उनले बताए । 

मेची,हडिया र निन्दाको पल्पसा निर्माण सेवा र देउनियाँ खोलाको स्नेह निर्माण सेवाले ठेक्का लिएका छन् ।