सुनसरी । कोसी गाउँपालिका–८ भण्टाबारीका २२ वर्षीय वीरेन्द्रकुमार कामैतसँग एक अपरिचित व्यक्ति चारवर्षअगाडि फेसबुकमार्फत् सम्पर्कमा आए ।
घरमा बेरोजगार बसिरहेका कामैतसँग ती व्यक्तिले केही दिनको सामान्य बोलचालपछि जागिरमा लगाइदिने प्रस्ताव गरे । निजी कम्पनीमा महिनाको २५ देखि ३० हजार भारु कमाइ हुने प्रलोभन देखाएपछि लोभिएका कामैत ती व्यक्तिले भनेअनुसार भारत उत्तर प्रदेश राज्यको गोरखपुर जिल्लास्थित बस्ती भन्ने स्थानमा पुगे ।
त्यहाँ पुग्दा न त कार्यालय थियो, न त अरू कुनै भौतिक संरचना नै । उनले ती दिन सम्झिँदै भने, ‘त्यहाँ पुगेपछि केही नेपाली पनि थिए, तिनीहरूले विभिन्न प्रलोभन देखाएर आश्वस्त पार्न खोजेका थिए ।’ तर, कहीँ कतै कोही नभएको एकान्त ठाउँमा रहेको भवनमा लाने कुरा थाहा पाएपछि आफू बेचबिखनमा पर्न लागेको शङ्का लागेर त्यहाँबाट भाग्न सफल भएको कामैतको भनाइ छ ।
प्रलोभनमा पर्दा झण्डै बेचिन पुगेका कामैत अहिले गाउँमै मानव बेचबिखन तथा ओसार–पसारविरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् । युवापुस्तामा बेरोजगारी, गरिबी, चेतना अभावलगायतका कारण मानवबेचबिखन हुने बताउँदै उनले त्यसका विरुद्ध सामूहिक रूपमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको बताए । मानव बेचबिखन, दाइजोप्रथा, बालविवाह, महिला हिंसाको विषयमा चेतनामूलक कार्यक्रमदेखि सडक नाटकसमेत गर्दै आएको कामैतको भनाइ छ ।
पहिला पहिला मानव बेचबिखन तथा ओसार–पसारबारे जानकार नभएकी कोसी गाउँपालिका–८ भण्टाबारीकी गीता पौडेल अहिले बेचबिखनविरुद्ध सक्रिय छिन् । मानव बेचबिखनविरुद्धको तालिम लिएपछि आफू मानव बेचबिखनजस्ता गम्भीर प्रकृतिका घटना रोकथाम गर्न सहयोग गर्दै आएको उनको भनाइ छ ।
तुलनात्मक रूपमा पहिलाभन्दा सर्वसाधारणमा चेतनाको स्तरमा वृद्धि भएको बताउँदै पौडेलले मानव बेचबिखन रोकथाम गर्न बालबालिका, युवापुस्ता, अभिभावक वर्गसँगै समाजका हरेक तह र तप्काका मान्छे जागरुक बन्नु आवश्यक रहेको बताउँछिन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने अभिभावकवर्ग सचेत भएका कारण पछिल्लो समय मानव बेचबिखनका घटनामा तुलनात्मक रूपमा कमी आएको अर्का स्थानीय राजु श्रेष्ठले बताए ।
नेपालबाट विभिन्न प्रलोभन देखाएर लाने विभिन्न उमेर समूहका बालबालिका इँट्टा भट्टा, तरकारी खेतीमा लगाउने गरिएको छ भने युवावर्गलाई शारीरिक बन्धक बनाई होटेल, रिसोर्ट, वेश्यावृत्तिलगायतका काम लगाउने गरिएको बताइएको छ । मानव बेचबिखनका घटना बढेपछि कोकन, प्लान इन्टरनेसनल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा सूचना केन्द्र स्थापना गर्दै कर्मचारीको व्यवस्थासमेत गाउँपालिकाबाट गरिदिएको कोसी गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले बताइन् ।
नौ महिनामा ११ जनाको उद्धार
सीमा नाका हुँदै बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा नौ महिनाको अवधिमा ११ जना युवतीको उद्धार गरिएको छ । कोसी गाउँपालिकाको कार्यालय, साझा सवालका लागि साझा मञ्च कोकन र प्लान इन्टरनेसनल नेपालको संयुक्त पहलमा कोसी गाउँपालिका–८ भण्टाबारीस्थित चारकुने नाकामा स्थापना गरिएको सूचना केन्द्र र सुरक्षाकर्मीको प्रयासमा उनीहरूको उद्धार गरिएको हो ।
मानव बेचबिखन तथा ओसार–पसारविरुद्ध जिल्ला समन्वय समितिका अध्यक्ष तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा मानव बेचबिखन तथा ओसार–पसारविरुद्ध नेपाल–भारतको सीमा नाकामा कार्यरत संयन्त्रहरू र अन्य सरोकारवालाहरूबीच समन्वय बैठकमा जानकारी गराएअनुसार २०७८ साल वैशाखदेखि पुस ११ गतेसम्म उक्त सूचना केन्द्र र सुरक्षाकर्मीको संयुक्त प्रयासमा १४ वर्षदेखि २० वर्ष समूहका ११ जना युवतीको उद्धार गरिएको हो ।
बेचबिखन तथा ओसार–पसार विरुद्धको १ हजार १ सय ४८ वटा सूचना पाएकोमा मोरङ र सप्तरीका तीन–तीन, उदयपुर जिल्लाका दुई, सुनसरी, झापा र सिन्धुपाल्चोकका एक– एक गरी ११ जना युवतीलाई बेचबिखन गर्ने उद्देश्यले लाँदै गरेको पाइएपछि उद्धार गरिएको सूचना केन्द्रका कर्मचारी बालकुमारी विकले जानकारी दिइन् । युवतीलाई बेचबिखन गर्ने प्रयोजनमा लाग्ने क्रममा पक्राउ परेकामध्ये चारजनामाथि मानवबेचबिखन र एकजनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको सुनसरी प्रहरीले जनाएको छ ।
सूचना केन्द्र स्थापना भएको तीन वर्षको अवधिमा १ सय ८ जनाको उद्धार गर्न सफल भएको उनको भनाइ छ । मानवबेचबिखन रोकथाम गर्न अभिभावक अभिमुखीकरण कार्यक्रम, बेचबिखनविरुद्ध महिला र किशोरी समूह निर्माणसँगै सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूलाई बेचबिखन तथा ओसार–पसारविरुद्ध चेतनामूलक कार्यक्रम दिँदै आएकोले मानव बेचबिखनविरुद्ध सर्वसाधारण जागरुक भएको कोकन नेपालका हेमन्तराज पौडेलले दाबी गरे ।
मानव बेचबिखन तथा ओसार–पसारविरुद्ध नेपाल–भारतको सीमा नाकामा कार्यरत संयन्त्रहरू र अन्य सरोकारवालाहरूबीचको समन्वय बैठकमा सीमापार मानव बेचबिखन तथा ओसार–पसारको अवस्था, अनुभव आदान–प्रदान, वर्तमान अवस्था, भारतीय अधिकारीसँगको समन्वय बैठक, मानव बेचबिखन तथा ओसार–पसारविरुद्ध जिल्लास्तरीय रणनीति अनुमोदन प्रक्रियालगायतका विषयमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा अधिवक्ता एवम् कोकन नेपालका सल्लाहकार तथा मानवअधिकारकर्मी कोषराज न्यौपानेले सहजीकरण गरेका थिए ।
नेपाल–भारतबीचको खुला नाका, चेतनाको अभाव, गरिबी, बेरोजगारीलगायतका कारण मुख्यतः मानव बेचबिखन तथा ओसार–पसारका घटना हुने गरेको बताउँदै प्रजिअ यादवले मानव बेचबिखन तथा ओसार–पसार न्यूनीकरण एवम् रोकथाम गर्न सबैको सामूहिक पहल र प्रयास आवश्यक रहेको बताए ।
‘गरिबी, बेरोजगारी, मानसिक समस्या, वैदेशिक रोजगार, छिट्टै धनी हुने मोहलगायतका कारण मानव बेचबिखन जस्ता घटना हुने गरेको छ’ उनले भने, ‘यस्ता समस्या न्यूनीकरण वा रोकथाम गर्न निरन्तर चेतनामूलक र दबावमूलक कार्यक्रमहरू हुनुपर्छ ।’ मानव बेचबिखन तथा ओसार–पसारका घटना हुनबाट रोक्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलगायतको पहल र प्रयास अपरिहार्य रहेको बताउँदै मानवअधिकारकर्मी कोषराज न्यौपानेले सरकारीस्तरबाट अपेक्षा गरिएअनुसार बजेट विनियोजन हुन नसकेको गुनासो गरे ।