सुनसरी । खुल्ला सीमाको फाइदा उठाउँदै साना हतियारको कारोबार गर्ने गिरोहलाई पक्राउ गर्न सुनसरी प्रहरी सफल भएको छ ।

२०७७ कात्तिक १२ गते भोक्राहा नरसिंह गाउँपालिका–७ मा टुमा सिंह यादवलाई प्रहरीले सानो हतियारसहित पक्राउ गरेको थियो । उनको घरबाट ७ दशमलव ६५७ मेड इन इन्डिया लेखिएको एक थान पेस्तोलसमेत बरामद भएको थियो ।

शौचालयको सेफ्टी रिङको बीचमा कालो प्लास्टिकको झोलामा म्यागजिन लोड गरिएको अवस्थामा प्रहरीले पेस्तोल बरामद गरेको थियो । यसैगरी २०७८ साउन २ गते कोसी गाउँपालिका–५ बाट दाजुभाइबीचको विवादका क्रममा १ नाल कटुवा पेस्तोल र १ राउन्ड गोलीसहित सोही स्थानका विद्यानन्द यादव पक्राउ परेका थिए ।

यी प्रतिनिधि घटनाबाटै सुनसरीमा साना हतियारहरू भित्रिरहेका छन् भन्ने प्रष्टिन्छ । भारतबाट सुनसरी जिल्लाको विभिन्न नाका हुँदै भित्र्याइने त्यस्ता हतियारको आडमा हत्या, अपहरण, चन्दा तथा फिरौती असुली, लुटपाटलगायतका आपराधिक घटना हुने गरेको छ । सीमामा सुरक्षाकर्मी तैनाथ भए  पनि प्रहरीका लागि साना हतियार चुनौती बन्दै आएको छ ।

पुस १२ गते मात्रै कोसी गाउँपालिका–१ स्थित लौकहीको एक होटलबाट दुईजना भारतीय पक्राउ पर्नुले साना हतियारको चुनौती प्रहरीमाझ अहिले पनि कायमै छ भन्ने प्रष्ट्याउँछ । जिल्ला प्रशासन कार्यालयबाट इजाजत नलिई हातहतियार बोक्नु गैरकानूनी मानिन्छ ।

खुला सीमा नाकाका कारण हातहतियार ओसार–पसार हुने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापा बताउँछन् । उनले सुरक्षाको दृष्टिकोणले हातहतियार कारोबार चुनौतीको रूपमा देखिएकाले त्यस्ता कारोबार गर्ने गिरोहमाथि निगरानी बढाइएको बताए । उनका अनुसार पछिल्लो समयमा खासगरी चोरी डकैती, लुटपाट, अपहरणजस्ता गैरकानूनी क्रियाकलापमा संलग्न हुने गरेका छन् ।

यसैबीच सुनसरी प्रहरीले चालु आर्थिक वर्षको हालसम्म अदालतबाट फैसला भई विभिन्नमा मुद्दाका फरार ५ सय ८८ जना प्रतिवादीहरूलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट १ सय २० वर्ष ६ महिना ५ दिन कैद र २८ लाख २८ हजार ३ सय ९ रुपैयाँ जरिबाना बेरुजु फछ्र्यौट गरिएको प्रहरीको भनाइ छ ।

IMG_20211228_143335