सुनसरी । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । 

सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन ।  पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन । 

पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, सोमा लाग्ने ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ । बरामद हतियार सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । 

प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको बिआर ५० के ०१४९ नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकल समेत बरामद गरिएको जनाएको छ । 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले घटनास्थलबाट तीन राउण्ड गोली लोड रहेको एक थान र खाली म्यागजिन सहित अर्को थान गरी २ थान अटोमेटिक पेस्तोल बरामद गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सुराकीका आधारमा छापामारीको लागि होटल पुगेको प्रहरी टोलीले हतियार सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताए । 

थापाका अनुसार स्वयं भारतीय नागरिकले सोधपुछका क्रममा आफुहरु पेस्तोल बिक्रि गर्न नेपाल आएको प्रहरी समक्ष बताएका थिए । 

प्रहरीले पत्रकार सम्मेलनमा भारतीय नागरिकहरु कसलाई हतियार बेच्न नेपाल आएका हुन भन्ने विषय नखुलाएपनि नेपाल–भारत सीमा क्षेत्रमा हतियार कारोबारको विषय भने चुनौतीका रुपमा रहेको बताएको छ । 

पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोवारमा ठूलै गिरोहको संलग्ना रहेको हुन सक्ने आशंका जताएको सुनसरी प्रहरीले त्यसतर्फ अनुसन्धान अघि बढाइएको जनाएको छ । सुनसरी प्रहरीले हतियार सहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कार्वाहीको प्रकृया अघि बढाइएको जनाएको छ ।