विराटनगर । बैङ्कको उच्च ओहदामा बसेका कर्मचारीको प्रत्यक्ष मिलेमतोमा सप्तकोसी डेभलपमेन्ट बैङ्कमा १५ करोड रूपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलेको छ । विराटनगरस्थित कर्पोरेट कार्यालय रहेको बैङ्कमा विगत ६ वर्षदेखि ‘फर्जी’ कारोबार बनाएर रेमिटेन्सको १५ करोडभन्दा माथिको रकम कर्मचारीको मिलेमतोमा हिनामिना भएको खुलेको हो ।
बैङ्कको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिई यसबारे अनुसन्धान गरिरहेको छ । बैङ्ककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैङ्कमा आर्थिक हिनामिना भइरहेकोबारे उजुरी गरेपछि मङ्सिर पहिलो साता बैङ्कको रकम हिनामिना भएको खुलेको हो । प्रहरी नियन्त्रणमा रहेका आरोपित भट्टराईका आफन्तले सिईओ नवीन सुवेदीको योजनामा बैङ्क घोटाला भएको दाबी गरेका छन् । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरेर आरोपित भट्टराईका परिवारले सिईओ सुवेदीकै योजनामा बैङ्कको रकम हिनामिना भएको आरोप लगाएका छन् ।
सिईओ सुवेदीका फुपूको छोरा हुन् प्रहरी नियन्त्रणमा रहेका भट्टराई । रेमिट शाखामा कार्यरत भट्टराई र सिईओ सुवेदी नातासम्बन्धभित्रका रहेका कारण मिलेमतोमा काम भएको खुलेको छ । रेमिट शाखाबाट भएको अपचलनमा बबिता सुवेदीको नाममा १४ करोडभन्दा बढी रकम ट्रान्सफर भएको राष्ट्र बैङ्कमा परेको उजुरीमा उल्लेख छ । बबिता सिईओ सुवेदीको फुपू दिदीकी छोरी हुन् । सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैङ्कको खाता नं. ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढङ्गबाट निकालिएको राष्ट्र बैङ्कमा परेको उजुरी पत्रमा उल्लेख छ ।
बबिताको नाममा फर्जी खाता सिईओ सुवेदी र भट्टराईले मिलेर खोलेको आरोप लागेको छ । यस्तै हिमाल भट्टराईको विभिन्न पाँचवटा बैङ्कको खातामा एक करोड रुपैयाँ जम्मा भएको उल्लेख छ । भट्टराईले कर्सिया, टङ्की, केराबारी, शनिश्चरे, सौंठा, गछिया शाखा कार्यालयका रेमिट्यान्स बैङ्क खाताबाट आफ्नो युजर आइडीबाटै ‘ट्रान्जेक्सन पोष्ट’ गरी आफ्नै बचत खाता र चल्ती खातामा जर्नल ट्रान्जेक्सनलाई ‘क्यास डिप सेल्फ’ भनी लेख्ने गरेका थिए ।
‘भट्टराईले बैङ्कले दिएको कर्मचारी सापटी कर्जा आफ्नो खातामा सापटी कर्जा रिपेमेन्ट गरेको भनी नक्कली ट्रान्जेक्सन देखाएर मोबाइल बैङ्किङमार्फत् सोझै अरुको खातामा रकम पठाएर अहिलेसम्म १ करोडमाथि गैरकानूनी ढङ्गबाट निकालेका छन्’–राष्ट्र बैङ्कमा परेको उजुरीमा उल्लेख छ ।
यसैगरी भगवती सुवेदी (सिईओ सुवेदीकी भाउजू), साजन पोखरेल (सिईओका सालो), बानी पोखरेल (सिईओकी जेठी सासू) लगायतका खातामा रकम पठाएको दाबी गरिएको छ । ‘उक्त खाता पनि अरू नै व्यक्तिबाट सञ्चालन गरी कारोबार भएकोले सूक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ’–उजुरीमा उल्लेख छ ।
राष्ट्र बैङ्कले उक्त आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेपछि जानकारी पाएको बैङ्कका सञ्चालक समितिका अध्यक्ष अर्जुन बरालले बताए । ‘नेपाल राष्ट्र बैङ्कले पत्राचार गरेपछि तत्काल आन्तरिक छानबिन गर्दा जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईको आर्थिक हिनामिनामा संलग्नता देखिएपछि राष्ट्र बैङ्क र जिल्ला प्रहरी मोरङमा उजुरी दियौं’ उनले भने, ‘अहिले प्रहरी र राष्ट्र बैङ्कले छानबिन गरिरहेकाले छानबिनपछि मात्रै के कति रकम कसरी हिनामिना भएको हो, वास्तविकता बाहिर आउँछ ।’
बैङ्कले उजुरी दिएपछि जिल्ला प्रहरी मोरङले भट्टराईलाई मङ्सिर १९ मा नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । पक्राउ परेका भट्टराई ६ वर्षदेखि उक्त बैङ्कमा कार्यरत छन् । उनले बैङ्कमा २०७१ सालदेखि रेमिटेन्सतर्फ जिएसडी प्रमुखको जिम्मेवारी पाएर काम गर्दै आएका थिए । बैङ्कभित्रको ठूलो रकम हिनामिना भएकाले यस घटनामा जीएसडी प्रमुख भट्टराईको मात्र एकल संलग्नतामा यत्रो ठूलो रकम घोटाला हुन नसक्ने भन्दै प्रहरीले गहन रूपमा अनुसन्धान सुरु गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
‘बैङ्कको यदि ठूलो रकम घोटालामा एक जना मात्र संलग्न हुन नसक्ने भएकोले हामीले सबै कोणबाट सूक्ष्म तरिकाले गहन रूपमा अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं’–घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने । बैङ्कको रकम २०७२ सालयतादेखि हिनामिना भएको स्रोतको भनाइ छ ।
सिईओ सुवेदीसहित ५ कर्मचारीे शङ्काको घेरामा
सप्तकोसी डेभलपमेन्ट बैङ्कमा भएको करोडौं हिनामिनामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नवीन सुवेदीसहित ५ जना कर्मचारीहरू पनि शङ्काको घेरामा परेका छन् । बैङ्कका सिईओ सुवेदी, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, कर्जा प्रमुख विदुर पोखरेल, आईटी प्रमुख सशाङ्क पोखरेल र अपरेसन प्रमुख अमित थापा मगरतिर पनि अनुसन्धान तेर्सिएको छ ।
सिईओ सुवेदी र लेखा प्रमुख भण्डारीले नेरुडे लघुवित्त कम्पनीमा सँगै लामो समय काम गरेका थिए । सप्तकोसीमा उनीहरू आएपछि बैङ्कको अनियमितता गर्न कानूनी, नीति, नियम र प्रक्रिया विधि मिलाउन भण्डारीले ‘आइडिया मेकर्स’ का रूपमा सिईओ सुवेदीका विश्वासिलो पात्र भएको उजुरीमा उल्लेख छ ।
बैङ्कका कर्जा प्रमुख विदुर पोखरेल र आईटी प्रमुख सशाङ्क पोखरेल सिईओ सुवेदीका मामाका छोरा हुन् । अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका भट्टराईका साथी हुन् । मगरको खातामा पनि सन् २०१६ देखि २०१७ मा दुईवटा फर्जी कारोबार भएको उजुरी पत्रमा उल्लेख छ ।
बैङ्कको आन्तरिक लेखा परीक्षण गर्न पनि सिईओ सुवेदीले ससुरालीतर्फको नाता पर्ने सालोलाई लगाउने गरेका थिए । नियमन गर्ने निकायले हिमाल भट्टराई, देवीप्रसाद भण्डारी, विदुर पोखरेल, नवीन सुवेदी र अमित थापा मगर शङ्कास्पद व्यक्ति भएकोले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिनुपर्ने राष्ट्र बैङ्कमा दिएको उजुरी पत्रमा उल्लेख छ ।
यता सिईओ सुवेदी भने अनुसन्धान जारी भएकाले सबै विषय केही दिनमा बाहिर आउने बताउँछन् । प्रदेश १ का ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको बैङ्कको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । साविकको काबेली विकास बैङ्क र सप्तकोसी डेभलपमेन्ट बैङ्क मर्जर भएर हाल सप्तकोसी डेभलपमेन्ट बैङ्क लि. नामबाट वित्तीय कारोबार गरिरहेको नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो ।
बैङ्कका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष अर्जुन बरालले बताए । आर्थिक हिनामिनाले तत्काल बैङ्कको नाफा घट्ने तर पछि कर्मचारीबाट असुलउपर गरेपछि त्यो परिपूर्ति हुने उनको भनाइ छ ।