विराटनगर । मोरङको रङ्गेलीमा एक बालिकालाई हत्या गरेको आरोपमा दम्पती पक्राउ परेका छन् । रङ्गेली–२ का २१ महिने बालिकालाई खाडलमा हालेर हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
चन्द्र उराँवको २१ महिनाको छोरी युनिशा उराँवको हत्या गरेको आरोपमा रङ्गेली–२ का ४६ वर्षीय सैनी उराँव र २५ वर्षीया सङ्गीता उराँव पक्राउ परेका हुन् । पक्राउ परेका सैनी र सङ्गीता श्रीमान्, श्रीमती हुन् । उनीहरू मृतकका नातामा फुपू, फुपाजु पर्दछन् ।
इलाका प्रहरी कार्यालय रङ्गेलीले बालिकाको हत्या आरोपमा दुवैलाई पक्राउ गरी सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
२१ महिनाका युनिशा २६ मङ्सिरमा घरदेखि हराएकी थिइन् । हराएको तीन दिनपछि घरदेखि करिब १ सय मिटर टाढा २ फिट गहिरो खाडलभित्र गाडिएको अवस्थामा शव भेटिएको थियो । खाल्डोमा कपडा भेटिएको थियो ।
कपडा भेटिएपछि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न आफन्त रहेको खुलेकोले उराँव दम्पतीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । उनीहरूले बालिकालाई हत्या गर्नुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
‘घटनामा संलग्न देखिएकोले प्रक्राउ गरी अनुसन्धान सुरु गरिएको छ’ डिएसपी श्रेष्ठले भने, ‘थप अनुसन्धानपछि कारण खुल्नेछ ।’ बालिकाको कुन दिन हत्या भयो भन्ने पनि थप अनुसन्धानपछि नै खुल्ने प्रहरीले जनाएको छ ।