तेज प्रकाशको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
बुधबार दमक नगरपालिका ६ नमुना मार्ग स्थित घिमिरे मार्केटमा नगरपालिकाकाे २ नम्बर वडाका २५ वर्षीय तेज प्रकाश पराजुलीको हत्या गरेको अभियोगमा नगरपालिकाको १ नम्बर वडा का २० वर्षीय अर्जुन लिम्बुलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
कार्यालयका अनुसार पक्राउ परेका लिम्बू र पराजुली बिच करिब ३ महिना अघि झगडा भएको र उक्त झगडाको रिसइवी साध्न लिम्बूले पराजुलीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बुधबार राती ७ बजेर १५ मिनेटमा उक्त मार्केटमा उनले काम गर्ने फेन्सी पसलबाट मार्केटमा रहेको धारामा पानी भरेर पसलतर्फ फर्कने क्रममा पराजुलीको घाटी तथा अनुहारमा धारिलो हतियार प्रहार गरी रक्ताम्मे अवस्थामा पसल सञ्चालक सन्तोष पौडेलले फेला पारेका थिए ।
बेहोस अवस्थाका उनलाई तत्काल दमक स्थित लाइफ लाइन अस्पताल लगिएकोमा थप उपचारका लागी बिएण्डसि अस्पताल बिर्तामोड रेफर गरिएमा उपचारको क्रममा पराजुलीको मृत्यु भएको थियो ।
घटनापछि अनुसन्धानको क्रममा शङ्काको आधारमा लिम्बुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनीहरू बिच झगडा भएको र लिम्बूको टाउकोको भागमा चोट पनि लागेपछि रिसइवी साध्ने उद्देश्यले पराजुलीको हत्या गरेको खुलेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार घटनामा प्रयोग भएको धारिलो हतियार (दाउ) सहित पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।