विराटनगर ।  विराटनगर ३ कन्चनबारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल सञ्चालनमा आएको छ । न्युरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त अस्पताल सञ्चालनमा ल्याएको हो । 

बुधबारेदेखि औपचारिक रूपमा सो अस्पताल सञ्चालनमा आउने मंगलबार अस्पतालमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

प्रारम्भिक चरणमा २५ शैय्याबाट सुरु गरेको अस्पतालमा नेपालमा पहिलो पटक न्यूरो सर्जरी सेवा सुरु गर्ने प्राध्यापक डा. उपेन्द्र देवकोटासँग लामो समय काम गरेको न्युरो सर्जन डा. पंकज राज नेपालसहितको टिम रहेको छ । डा. नेपाल अस्पतालका प्रबन्धक हुन् ।

उनीसहित दिनेश ठाकुर, डा. अर्चना चौधरीको लगानी रहेको छ । अस्पतालमा न्यूरो सम्बन्धी सम्पूर्ण उपचार, हार्डजोर्नी, नाक कान घाँटी, दन्त चिकित्सकीय सेवाहरू सञ्चालनमा रहने अस्पतालका निर्देशक ठाकुरले जानकारी दिए ।

यस्तै जेनेरल तथा ल्यापरोस्कोपिक सर्जरी, फिजिसियन सम्बन्धित सम्पूर्ण सेवाहरू, फिजिओथेरापी सेवाहरू सञ्चालनमा रहेको छ । अस्पतालमा अत्याधुनिक आइसियु तथा भेन्टिलेटर सेवा, सिटी स्कान, एम आरआईलगायतका सम्पूर्ण सेवाहरू अस्पतालमा रहेको निर्देशक ठाकुरको भनाई छ । 

‘हामीले अरू अस्पतालभन्दा हाम्रा दिने सम्पूर्ण सेवाहरूको छुटै निर्देशिका तयार गरेका छौँ,’ उनले भने, ‘भोलिका दिनमा अस्पताल आएका बिरामीले छिटो, छरितो र गुणस्तरीय सेवा पाउन भन्ने हाम्रो उद्देश्य हो । ’ न्युरो सम्बन्धी उपचारमा लामो समय काठमाडौँ र बी एन सी अस्पतालमा न्यूरो चिफ एवं निमित्त हस्पिटल डाइरेक्टर भएर काम गरेका डा. नेपालले यहाँ आएर सेवा दिने भएका हुन् ।

विराटनगरमा जन्मिएका डा. नेपालले न्यूरो क्षेत्रमा बिरामीलाई नयाँ सेवा गुणस्तरीय तरिकाले दिने उद्देश्य रहेको बताए । 

अस्पतालमा अहिले मेडिकल क्षेत्रमा १२ जना चिकित्सक, एक दर्जन बढी नर्स रहेका छन् । यस अस्पतालमा एक सय जनाले रोजगारी पाउने निर्देशक ठाकुरले जानकारी दिए । अहिले सामाजिक विकास मन्त्रालयदेखि २५ शैय्याको स्वीकृत पाएकोले निकट भविष्यमा ५० शैय्याको पुर्‍याउने तयारी गरेको उनले बताए ।