विरटनगर । विरामीले सेवन गर्ने औषधी दर्ता बेगार विराटनगरको एक चस्मा पसलले बिक्री वितरण गरेको भेटिएपछि कारवाही गरिएको छ । 

विराटनगर आँखा अस्पताल अगाडी विराटनगर – १३ मा रहेको गुगल चस्मा घरका संचालक विकास साहले अनुमति लिएको भन्दा बाहिर गएर  औषधी बिक्री वितरण गरेको भेटिएपछि औषधी व्यवस्था विभाग विराटनगरले पसल शिलबन्दी गरेको हो । 

उक्त चस्मा घरले अनुमति बेगार बिक्री वितरणमा राखिएको औषधी पनि विभागले बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए । ‘अनुमती नलिकन चस्मा पसलले औषधी विक्री वितरण गरेको सूचना आएको थियो,’ उनले भने, ‘अनुगमनको क्रममा चस्मा पसलले औषधी भेटियो ।

यसरी औषधी व्यवस्था विभागको स्वीकृती बेगार औषधी बिक्री वितरणमा प्रतिबन्ध छ ।’ विभागबाट स्वीकृत नलिकन मनलाग्दी तरिकाले पसल संचालन गरेर औषधीको बिक्री वितरण गर्नेलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढने उनले बताए । 

यसअघि औषधी पसल खोलेपनि विभागदेखि स्वीकृत नकिलन तराइको र पहाडी जिल्लाका फार्मेशीहरूले औषधी बिक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय चस्मा पसलहरूले पनि खुल्लेआम औषधी बिक्री वितरण गर्न थालेपछि अनुगमनलाई तिव्रता दिएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको तीन महिना असोजसम्ममा दर्ता नभएका १८ वटा फार्मेशीलाई औषधी व्यवस्था विभाग विराटनगरले कारवाही गरेको छ । अनुगमनको क्रममा दर्ता बेगार फार्मेशी संचालन गरेको पाइएपछि साउनदेखि असोजसम्मा सो संख्यामा कारवाही गरिएको हो ।

अनुगमनको क्रममा व्यवसायी (फर्माशिष्ट) अनुपस्थित भएका ४३ फार्मेशीलाई कारवाही गरिएको छ । यस्तै विभागमा दर्ता नभएका औषधी बिक्री वितरण गर्ने ६ फार्मेशीलाई पनि कारवाहीको दायरामा ल्याएको बिभागले जनाएको छ ।