पाँचथर जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प भएको छ । बालिकाको उपचारको क्रममा मृत्यु भएपछि स्वास्थकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आक्रोशित भिडले अस्पताल संरचना तोडफोड हुने गरी ढुङ्गा मुडा गर्नुकासाथै अस्पतालमा आगजनीको प्रयास
समेत
गरेपछि अस्पताल प्रशासनले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएपछि आफन्त र अन्य स्थानीयले स्वास्थ्यकर्मीको लापरबाहीले ज्यान गएको भन्दै विरोधमा उत्रिएका थिए ।
बुधबार नै मृतकका अाफन्तले एक विज्ञप्ति जारी गरी अस्पताल ताेडफाेडमा आफुहरूकाे संलग्नता नभएकाे जनाएका थिए । अस्पताल प्रशासन तथा मृतकका आफन्त विच दिनभर जसो छलफल भए पनि निष्कर्षमा पुगेका थिएन ।
आन्दोलित भिडले अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू, अस्पतालका झ्याल ढोकासहित बाहिरी संरचनामा क्षति पुग्ने गरी ढुङ्गा मुडा गरेका थिए ।
बिहान भने जिल्ला प्रशासन कार्यालयमा छलफलपछि अस्पताल प्रशासनले काजक्रिया खर्चका लागि ४० हजार रकम उपलब्ध गराउने सर्तमा बालिकाको शव आफन्तले बुझेको बताइएको छ ।