धरान । परिवर्तनका लागि सामाजिक अभियान धरानले ‘सामाजिक स्वास्थ्य क्लिनिक–२’अन्तर्गत शनिबार ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचलाई निरन्तरता दिएको छ । 

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सेवा दिने उद्देश्यले अभियानले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहसँग सहकार्य गरेको छ । पाक्षिक रूपमा सञ्चालन हुँदै आएको क्लिनिकमा यसपटक फलोअपसहित गरी ३० जनाले सेवा लिए । 

अभियानले धरान मोडल कलेज परिसरमा स्वास्थ्य जाँच गर्दै आएको छ । धरान १२ निवासी अलंकार पलिखेले सहज रूपमा स्वास्थ्य जाँच गराउन पाउने गरी अभियानले सुविधा ल्याएकोमा धन्यवाद दिए । उनले आफ्ना बुबाको स्वास्थ्य जाँच गर्न ल्याएका थिए । अभियानले ७० वर्ष माथि कटेका ज्येष्ठ नागरिकलाई मात्रै सेवा दिने अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए । 

त्यसभन्दा मुनी उमेर समूहका नागरिकहरू सहजै रूपमा अस्पताल जान सक्ने भएकाले पनि ७० वर्षभन्दा माथि उमेर समूहलाई मात्रै प्राथमिकता दिइएको उनले बताए । कार्यक्रममा अभियानका प्रतिनिधि वर्षा अग्रवाल, दीपेन्द्र निरौला, भोजराज श्रेष्ठ, मोहन श्रेष्ठ, वासुदेव बराल, त्रिभुवन बराल, जेनिश शाक्यलगायत सहभागी थिए । आमाको जाँचपश्चात् धरान २ का प्रमेश श्रेष्ठले यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।