विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा नवनिर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।
प्लान्टको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गरेका थिए । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ब्ल्ःक) को १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोसी अस्पताल परिसर भित्र अक्सिजन प्लान्ट निर्माण भएको हो ।
उद्घाटन गरिएको अक्सिजन प्लान्ट सहयोग गर्ने अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष प्रा डा. भूपेन्द्र बस्नेतले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई कोसी अस्पतालका मेसु डा. चुमनलाल दासलाई हस्तान्तरण गरेका थिए ।
कोसीमा जडान भएको अक्सिजन प्लान्ट पिएसएस सिस्टमको रहेको छ । मेसिन चलुन्जेल अक्सिजन उत्पादन हुनेछ । प्लान्टदेखि उत्पादन भएको अक्सिजन सिधै अस्पतालको बेडसम्म पुग्ने गरेको छ । अहिले दैनिक १ सय सिलेण्डर उत्पादन हुने गरेको छ ।
प्लान्टको उद्घाटनपछि अहिले अक्सिजनको उत्पादन फुल फेसमा सञ्चालनमा आएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन नेपालका अध्यक्ष तथा वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा. भूपेन्द्र बस्नेतले जानकारी दिए ।
एउटा सिलेण्डर ४८ केजीको हुन्छ । अक्सिजन प्लान्टदेखि उत्पादन भएको अक्सिजन मेन लाइनमा जडान गरिएको कोसी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । अक्सिजन प्लान्टदेखि आएको अक्सिजन अस्पतालको आकस्मिक कक्षदेखि पूर्व पटी रहेको मेन लाइनमा आएर होल्ड हुने व्यवस्था मिलाएको छ ।
त्यसपछि आकस्मिक, अर्थो, कोभिड वाड, आइसियू, मेडिकल र जेनेरल वडामा अक्सिजन जाने सिस्टमको विकास गरिएको मेसु दासले जानकारी दिए ।
अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि कोसी अस्पताललाई धेरै राहत हुने उनले बताए । कोसीमा अक्सिजन आवश्यक पर्ने बिरामीको चाप र मात्र हेरेर खपत हुने गर्दछ । ‘दोस्रो लहरमा फैलिएको कोभिड १९ को बेलामा दैनिक ४ सय सिलेण्डर पनि खपत भएको थियो । अहिले पनि कोभिडका १८ देखि २० जना बिरामी छन् । अहिले दैनिक १ सय ५० देखि २ सय सिलेण्डर अक्सिजन आवश्यक पर्ने गरेको छ,’ मेसु दासले भने ।
कोसी अस्पताल निकट भविष्यमा ५ सय शय्याको अस्पताल बन्दै छ । ‘अहिले उत्पादन भएको अक्सिजनले भरथेग गरेर पुग्नेछ,’ मेसु दासले भने, ‘अहिले कोसी भित्र उत्पादन भएको अक्सिजनले हामीलाई धेरै राहत मिलेको छ ।’
कोसीको प्लान्टदेखि अक्सिजन उत्पादन भएपछि सिलेण्डर बोकेर निजी उद्योगमा जानुपर्ने समस्या पनि अन्त्य हुने उनले बताए । अहिले अस्पतालले निजी उद्योगसँग सम्झौता गरी अक्सिजन खरिद गर्दै आएको छ ।
नेपाल मेडिकल एसोसिएसनको समन्वयनमा सूची फाउण्डेसनले पनि अर्को कोसीमा अक्सिजन प्लान्ट जडान गरिदिने जानकारी आएको उनले बताए । त्यसपछि अस्पतालमा अक्सिजनको सहज हुने मेसु दासको भनाई छ ।