विराटनगर । औषधिको बिक्री वितरण गर्दा ‘फर्मासिस्ट’ (व्यवसायी) अनिवार्य रूपमा औषधि पसलमा बस्नुपर्ने व्यवस्था औषधि व्यवस्था विभागले गरेको भए पनि कमिसनको लोभमा आफ्नो लाइसेन्स भाडामा लगाएर अन्यन्त्र काम गर्ने गरेको पाइएको छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै निश्चित रकम लिएर लाइसेन्स भाडामा लगाउने र फर्मासिस्ट पढेका प्राविधिकहरू अन्यन्त्र काम गर्ने गरेको भेटिएको हो ।

यसरी औषधि पसलमा नबसी भाडामा लाइसेन्स लगाएर अर्को पसल वा विभिन्न औषधि उद्योगहरूमा काम गर्दै आएकोे पाइएपछि औषधि व्यवस्था विभागले बदमासी गर्ने फर्मासिस्टहरूको लाइसेन्स खारेजीसम्मको प्रक्रिया अगाडि बढाउन थालेको छ । विभागले आइतबार सुनसरीका फार्मेसीहरूमा अनुगमन गर्दा दुईजना फर्मासिस्टले लाइसेन्स भाडामा लगाएको फेला परेको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए ।

brt-farma

फर्मासिस्ट राज कट्टेलले लाइसेन्स भाडामा लगाएको अनुगमनको क्रममा भेटिएको छ । उनले इटहरी–१७ मा रहेको एलिना फार्मेसीलाई लाइसेन्स भाडामा दिएर उनी भने मोरङको कटहरीस्थित एमटेक फर्मास्युटिकलमा काम गर्ने गरेको अनुगमनको क्रममा भेटिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिए ।

यसैगरी अनुगमनको क्रममा वराहक्षेत्र नगरपालिका–६ मा रहेको कामना फार्मेसीका फर्मासिस्ट अरविनकुमार अग्रहरीले पनि लाइसेन्स भाडामा लगाएको भेटिएको छ । बी फार्मेसी गरेका उनले कामना फार्मेसीमा आफ्नो लाइसेन्स दिएर काम भने अन्यन्त्र गरेको भेटिएको फार्मेसी निरीक्षक खड्काले बताए । उक्त फार्मेसीको सञ्चालक प्रमोदकुमार साह तेली रहेका छन् ।

औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले भनेको छ, ‘चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम औषधि बिक्री वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले गर्नु पर्नेछ र फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीबाहेक अरूले औषधि बिक्री वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनेछ ।’ औषधिको बिक्री वितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था गरेको कारणले कतिपय फर्मासिस्टले कमिसनको लोभमा आफ्नो लाइसेन्स फार्मेसीलाई भाडामा दिएर उनीहरू अर्कै ठाउँमा काम गर्ने गरेको पाएको छ ।

यसरी कमिसनको लोभमा फार्मासिस्टले विकृति बढाएपछि विभागले प्रभावकारी रूपमा अनुगमन गरेर लाइसेन्स भाडामा लगाएको भेटिए कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । ‘फर्मासिस्टले लाइसेन्स भाडामा लगाएर आफू अन्यन्त्र काम गरेको अनुगमनको क्रममा फेला परेको खण्डमा कारबाहीको प्रक्रिया अगाडि बढाउने गरेका छौं’ औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख कट्टेलले भने, ‘यसरी लाइसेन्स भाडामा लगाएर आफूले अन्यन्त्र काम गरेको भेटिए नेपाल फार्मेसी परिषद्मा फर्मासिस्टको लाइसेन्स खारेजीसम्मको लागि सिफारिस गरिनेछ । त्यसको साथै भाडामा लगाउने फर्मासिस्टलाई कालोसूचीमा समेत राखिनेछ ।’
फर्मासिस्टले मासिक ८ देखि १५ हजार रुपैयाँसम्म लिएर लाइसेन्स भाडामा लगाउने र आफू भने अन्यन्त्र काम गर्ने गरेको भेटिएको छ ।

लाइसेन्स भाडामा लगाउने फर्मासिस्ट खोज्दै विभाग
औषधि व्यवस्था विभाग विराटनगरको कार्यक्षेत्र प्रदेश १ को १४ जिल्ला र प्रदेश २ को सिरहा र सप्तरी पनि पर्दछ । पछिल्लो समय फर्मासिस्टहरूले आफ्नो लाइसेन्स भाडामा लगाउने र आफू भने अन्यन्त्र काम गर्ने गरेको जनगुनासोआउन थालेपछि अहिले त्यस्ता फर्मासिस्ट खोजी गर्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउने अभियान सुरु गरेको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए ।

अहिले अस्पताल फार्मेसी, औषधि उद्योग, तथा  फर्मासिस्ट  कार्यरत क्षेत्र, फार्मेसी अध्यापन गराउने कलेजहरू सबै बाट विभागले फार्मासिस्टको विवरण सङ्कलन गरी अनलाइन डिएएमएसबाट काउन्सिल नम्बर सहित रुजु गर्ने र भाडामा लगाइएको पाइएमा कारबाही प्रक्रिया अगाडि बढाउन थालिएको उनले बताए ।

‘लाइसेन्स भाडामा लाएर सम्बन्धित स्थानमा काम नगरेको भेटिएका सबै फर्मासिस्टहरूलाई कालोसूचीमा राखी विभिन्न माध्यमबाट सूचना पनि प्रकाशित गर्ने तयारी थालेका छौं’ उनले भने, ‘समग्र फार्मेसी पेशामा देखापरेको विकृति रोक्नको लागि यो अभियान सुरु गरिएको हो ।’ आफ्नो पेशाको मर्यादा कायम गरी स्वच्छ वातावरणमा गुणस्तरीय औषधि बिक्री वितरणको लागि विभागले नियमन गर्न सुरु गरेको उनले बताए ।

दर्ता विनाको फार्मेसी छ्यापछ्याप्ती
प्रदेश १ को तराई र पहाडी जिल्लाका ग्रामीण र  दूरदराज क्षेत्रमा दर्ता विना औषधि पसल (फार्मेसी) हरू सञ्चालन गर्ने गरेको पाइएको छ ।

नियमनकारी निकायको चासो कम पर्ने भन्दै कमाउ धन्दामा लागेका व्यक्तिले औषधि व्यवस्था विभागमा दर्ता विनै फार्मेसीहरू सञ्चालन गरेको पाइएको हो । विशेषगरी तराईको सुनसरी, मोरङ, झापा, उदयपुर, सिरहा, सप्तरीको ग्रामीण क्षेत्र र सीमावर्ती क्षेत्रनजिक खोलेका फार्मेसीहरू दर्ता विना सञ्चालनमा आउने गरेका छन् । तराईबाहेक पनि पहाडी जिल्लाहरूमा दर्ता विना औषधि पसल सञ्चालन हुने गरेको पाइएको हो ।

औषधि व्यवस्था विभाग विराटनगरले आइतबार १७ वटा फार्मेसी अनुगमनको क्रममा सुनसरीमा मात्र चारवटा विभागमा दर्ता विनै खुलेआम सञ्चालन गरेको भेटिएको छ । सुनसरीको ग्रामीण क्षेत्रको दूरदराजका बस्तीमा पुगेर अनुगमन गर्दा ४ वटा फार्मेसी दर्ता विना सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको नेपाल औषधि व्यवस्था विभाग विराटनगरका निमित्ति कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए ।

pharma

यसरी दर्ता विना सञ्चालन भएका फार्मेसीहरू सुनसरीको वरहाक्षेत्र नगरपालिकाभित्रका रहेका छन् । वराहक्षेत्र नगरपालिका–४ मा शर्मिला राईले सञ्चालन गरेको नाम विनाको फार्मेसी औषधि व्यवस्था विभागले अनुगमन गरी सिलबन्दी गरेको छ । यस्तै उत्तिमलाल साहले सञ्चालन गरेको मनकामना स्वास्थ्य क्लिनिक पनि दर्ता विना सञ्चालन गरेको भेटिएपछि सिलबन्दी गरिएको छ ।

वराहमा उन्दीप चौधरीले सञ्चालन गरेको औषधि पसल पनि विना दर्ता सञ्चालन गरेको भेटिएपछि सिलबन्दी गरिएको कट्टेलले जानकारी दिए । सरिता ठाकुरले वराहक्षेत्रमा सञ्चालन गरेको शम्भु मेडिकल हल पनि दर्ता विना सञ्चालन गरेको भेटिएपछि सिलबन्दी गरिएको छ ।

सिलबन्दी गरिएकामध्ये राईले सञ्चालन गरेको फार्मेसीले सामान्य मापदण्ड पनि पालना नगरेको अनुगमनको क्रममा भेटिएको विभागका प्रमुख कट्टेलले बताए । ‘फार्मेसी लापरबाहीपूर्ण तरिकाले चलाएको अनुगमनको क्रममा भेटिएको छ’ उनले भने, ‘वराहक्षेत्रमा सञ्चालन गरेको फार्मेसीको साइडमा घरेलु मदिराको भट्टी पनि भेटियो । यो हैदसम्मको लापरबाही र सामान्य मापदण्ड पनि पालना नगरेको भेटिएको छ ।’

दर्ता विना सञ्चालन भएको फार्मेसी सिलबन्दी गरी एक हप्ताभित्र विभागमा उपस्थित हुन निर्देशन पनि दिएको कट्टेलले बताए । ‘दर्ता विनाको फार्मेसीलाई कानूनी दायरामा ल्याएर कारबाहीको प्रक्रियामा ल्याउन हामीले अभियान चलाएका छौं’ उनले भने, ‘अहिले अनुगमन गर्दै दर्ता विना सञ्चालन भएका फार्मेसीलाई दर्ता प्रक्रियामा ल्याउन लागिपरेका छौं । त्यही भएर अहिले अनुगमनलाई पनि तीव्रता दिइएको हो ।’