वराहक्षेत्र । गत जेठमा ज्वरोले सिकिस्त बनेकी ५२ वर्षीया आमाको उपचार स्थानीय स्वास्थ्य संस्थामा सम्भव नभएपछि धरान लैजानका लागि उनका छोराले आफूलाई थाहा भएका सबै एम्बुलेन्सलाई अनुरोध गरे तर, कसैले लान मानेनन् ।

निकै हारगुहार गरे तर, केही पार लागेन । सोर्सफोर्स लगाएपछि बल्लबल्ल चार दिनपछि एम्बुलेन्सका रूप दिइएको वराहक्षेत्र नगरपालिकाका प्रतिनिधि चढ्ने गाडीमा अस्पताल लैजान सफल त भए, तर, अस्पताल पु¥याए पनि आमालाई बचाउन सकेनन् ।

एम्बुलेन्स नपाउँदा अकालमा ज्यान गुमाउनु परेको यो घटना वराहक्षेत्र नगरपालिका–२ को हो । आमा गुमाएका ती युवा भन्छन्, ‘स्वास्थ्य केन्द्रको आफ्नै एम्बुलेन्स भएको भए समयमा उपचार गराउन पाउँथेँ । आमा पनि बाँच्नुहुन्थ्यो कि !’

वराहक्षेत्र–२ कै निर्मला माझीले पनि समयमा एम्बुलेन्स नपाउँदा आफ्नी सासू गुमाइन् । उनकी ७१ वर्षीया सासूलाई ज्वरो आउने, घाँटी दुख्ने समस्या भएपछि उपचारका लागि चतरा स्वास्थ्य केन्द्रमा पुगिन् तर, त्यहाँका डाक्टरले धरान लैजान सल्लाह दिएपछि उनलाई समस्या प¥यो । उनले सासूलाई अस्पताल लैजान अनेक कोशिस गरे पनि एम्बुलेन्स पाइनन् । एम्बुलेन्स नपाएकै कारण समयमा उपचार नपाउँदा सासू गुमाउनु परेको उनको गुनासो छ ।

मुटुकी बिरामी स्थानीय शारदा खड्कालाई धरान धाइरहनु पर्छ । रगत पातलो गर्ने औषधि खाने गरेको हँुदा उनलाई अस्पताल जानका लागि एम्बुलेन्स आवश्यक पर्छ । तर, एम्बुलेन्स नहुँदा उनी जोखिम मोलेरै गाडीमा आउजाउ गरिरहेकी छन् ।

बिरामीलाई अस्पताल पु¥याउन टाढाबाट एम्बुलेन्स बोलाउँदा ढिलो भएका कारण ज्यान गुमाउनु परेका घटना धेरै छन् । वराहक्षेत्र नगरका कुनै पनि सरकारी स्वास्थ्य संस्थासँग एम्बुलेन्स छैन । त्यसकारण कोही गम्भीर बिरामी परे टेम्पो वा अन्य साधन खोज्नुपर्छ तर, ती पनि समयमा पाइँदैनन् । पाइएका पनि कतिपय जान मान्दैनन् । त्यसको मार स्थानीयले खेपिरहनु परेको छ । बाटोको राम्रै सुविधा भएको स्थानमा समेत एम्बुलेन्स पाउन मुस्किल पर्छ भने दुर्गम क्षेत्रको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ ।

वराहक्षेत्र नगर क्षेत्रमा चतरा र मधुवनमा प्राथमिक स्वास्थ्य केन्द्र, चक्रघट्टीमा नगर अस्पताल, वडा नं. ३, ४, ७, ८ र ९ मा आधारभूत स्वास्थ्य चौकी रहेका छन् भने वडा नं. १ को वराहक्षेत्र मन्दिर क्षेत्र र वडा नं. ६ मा सामुदायिक स्वास्थ्य इकाई छन् । दिनहुँ सयौं बिरामी उपचार गराउन आउँछन्, तिनीहरूमध्ये कतिलाई तत्काल बाहिरको ठूलो अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ । ‘यस्तो स्थितिमा संस्थाको आफ्नै एम्बुलेन्स भए बिरामीलाई छिटो र सहज सेवा दिन सकिन्थ्यो’–नगरका जनस्वास्थ्य निरीक्षक उमेश मेहता भन्छन् ।

साविक वराहक्षेत्र गाविस तथा आसपास उदयपुर, धनकुटा र भोजपुर जिल्लाका सेवाग्राहीले उपचार गराउने मुख्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र चतरा हो । जहाँ साविक ७, ८ र ९ नं. वडा र वराहक्षेत्रसँग सिमाना जोडिएका अन्य जिल्लाबाट दैनिक दुई सय पचासको सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् । हाल १ र २ नं. वडामा मात्रै स्वास्थ्य बिमा गराउनेको सङ्ख्या ११ हजारको हाराहारीमा छ, भने ६ सयको सङ्ख्यामा दीर्घरोगी रहेका छन् । आएकामध्ये १० देखि २० प्रतिशत बिरामी सेवाग्राहीलाई विभिन्न कारणवश रिफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र चतराका व्यवस्थापन निर्देशक डाक्टर अनिल गिरी बताउँछन् ।

स्थानीयस्तरमा उपचार नहुने भएपछि उनीहरूलाई धरान, विराटनगरजस्ता सहरका आईसीयू, एनआईसीयू, सिटी स्क्यान, एमआरआई, विशेषज्ञ सेवा, डिजिटल एक्स–रेको लागि पठाउनु पर्छ । ‘केन्द्रले २४ सै घण्टा आकस्मिक र सुत्केरी सेवा दिने भएकाले जुनसुकै बेला बिरामीको अवस्था बिग्रन सक्ने भएको हुँदा बिरामी रिफर गर्न तयारी अवस्थामा एम्बुलेन्स चाहिन्छ, फेरि सडक दुर्घटनामा परेकालाई बचाउन पनि चतरा स्वास्थ्य केन्द्रमा तत्काल सुविधा सम्पन्न एम्बुलेन्स र शव वाहन आवश्यक छ’–डाक्टर गिरी भन्छन् ।

नगरपालिकामा सरकारी स्वामित्वको एउटा पनि एम्बुलेन्स छैन । बहुसङ्ख्यक न्यून आय भएका नागरिकमा स्वास्थ्य सेवाको पहँुच छैन । साह्रो गाह्रो हुँदा नागरिकले एम्बुलेन्स सजिलै पाउन सकेका छैनन् । नगरको कुनै पनि वडामा मात्र होइन, चतरा र मधुवन स्वास्थ्य केन्द्र र चक्रघट्टीमा रहेको नगर अस्पतालमा समेत आफ्नो एम्बुलेन्स छैन ।

प्राथमिक स्वास्थ्य केन्द्र चतराका व्यवस्थापन समिति अध्यक्ष हरिकृष्ण भट्टराई भन्छन्, ‘केन्द्रले एक्लै किन्न सक्ने अवस्था छैन, नगर र जिल्लालाई भनेका छौं तर, कहीँबाट सुनुवाइ भएको छैन ।’ सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले हालै प्रदेश सरकारले ५ करोड रकम विनियोजन गरेको बताए ।

स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स चलाउन पाउने
अबदेखि स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स दर्ता र चलाउन पाउने भएका छन् । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा यस्तो व्यवस्था गरेको हो । हाल विभिन्न निजी सहकारी, क्लब र संस्थाले सञ्चालन गरेको एम्बुलेन्समा प्राथमिक उपचारको औषधि र इञ्जेक्सनलगायत आवश्यक साधन तथा सामान्य सुविधा समेत हँुदैन । यस्ता एम्बुलेन्सका कारण बिरामीले ज्यान गुमाउन थालेपछि सरकारले निर्देशिका जारी गरेको हो । निर्देशिकाले चालक र एम्बुलेन्समा रहने आपतकालीन प्राविधिकको लागि अनिवार्य पोसाकको पनि व्यवस्था गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थासँग समन्वय गरेर खरिद गर्न सकिने बताइएको छ ।

हाल ‘ग’ वर्गमा सञ्चालन भएको एम्बुलेन्स नवीकरण गर्दा अनिवार्य ‘क’ अथवा ‘ख’ मा स्तरोन्नति गर्नुपर्ने प्रावधान ल्याइएको छ । ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्समा हेल्थ असिष्टेण्ट वा नर्स र चालक रहनु पर्नेछ ।  ‘ग’ वर्गमा अनिवार्य अहेव वा अनमी रहनुपर्ने जनाइएको छ । ५ देखि ५० शøयाको अस्पताल तथा प्रादेशिक र सङ्घीय अस्पतालले कम्तीमा ‘क’ र ‘ख’ वर्गको १–१ वटा एम्बुलेन्स व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

नगरपालिकाको कुल जनसङ्ख्या करिब ७८ हजार रहेको छ भने नपाको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् करिब ४४ हजारले स्वास्थ्य बिमा गराएका छन् ।