धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भ्रष्टाचार र बेथितिका विषयमा परेको उजुरीका लागि गठित समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन बुझाएको छ । 

प्रतिवेदनले विभिन्न पाँचवटा शीर्षकमा भ्रष्टाचार हुने गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रतिष्ठानमा यस बीचमा सयवटा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको हो । आयोगले स्थलगत अनुगमन गर्नका लागि समिति गठन गरेको थियो । समितिले गरेको अध्ययन, अनुसन्धानपश्चात् आयोगलाई प्रतिवेदन बुझाएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

अनुगमन समितिले ‘प्रारम्भिक अनुसन्धानबाट प्रतिष्ठानमा भ्रष्टाचार देखिएको’ प्रतिवेदनको निष्कर्ष छ । बीपी प्रतिष्ठानको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले साउन १८ गते सरकारलाई बुझाएको प्रतिवेदनमा पनि मेडिकल उपकरण खरिदलगायतमा भ्रष्टाचार हुने गरेको उल्लेख गरेको थियो । सोही प्रतिवेदनपश्चात् अख्तियारको केन्द्रीय कार्यालयबाट आएको टोलीले साउन २७ गते छापा मार्दै कागजात नियन्त्रणमा लिएको थियो । 

अख्तियारको अनुसन्धान टोलीले प्रतिष्ठानको भवन निर्माण, स्वास्थ्य सामग्री, औषधि खरिद, नियुक्ति र प्रशासनिक काम कारबाहीमा भ्रष्टाचार हुने गरेको तथ्य सार्वजनिक गरेको छ ।