धरान । विसुद्ध सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित ‘परिवर्तनका लागि सामाजिक अभियान’ ले शनिबार सामाजिक स्वास्थ्य क्लिनिक कार्यक्रमअन्तर्गत मुटु रोगसम्बन्धी स्वास्थ्य जाँच कार्यक्रम गरेको छ ।
अभियानको यो पहिलो कार्यक्रम हो । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सहभागी गराउँदै मुटु रोगसम्बन्धी जाँच गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठिानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले कार्यक्रममा सहभागी २० जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य जाँचपश्चात् डा. साहले केहीको स्वास्थ्य अवस्था राम्रै भए पनि केहीको तत्काल अन्य जाँच गर्नुपर्ने अवस्था रहेको बताए ।
डा. साहले भने, ‘धेरै बिरामीहरू कोभिडका कारणले पनि हुनसक्छ, अस्पताल नआइ घरमै बस्नु भएको पाइयो, आजको कार्यक्रमबाट उहाँहरूले आफ्नो स्वास्थ्यसम्बन्धी जानकारी लिन पाउनुभयो ।’ धरान र धरानबाहिरका २० जना ज्येष्ठ नागरिकले सेवा लिएको कार्यक्रमका संयोजक त्रिभुवन बरालले जानकारी दिए । उनले यस कार्यक्रम पाक्षिक अर्थात् १५ दिनमा गरिने समेत बताए ।
ज्येष्ठ नागरिकहरूले सहज रूपमा स्वास्थ्य सेवा लिन नसक्ने भएकाले पनि स्वास्थ्य क्लिनिक कार्यक्रम गरिएको अध्यक्ष विष्णु बरालले जानकारी दिए । यस अभियान सबैको साझा अभियान रहेकाले विशेष गरी सामाजिक कार्यअन्तर्गत स्वास्थ्य र शिक्षाका कार्यक्रम गरिने अध्यक्ष बरालले बताए ।
धरान मोडेल कलेजको हातामा भएको कार्यक्रममा अभियानकर्मी विदुर थापा, वर्षा श्रेष्ठ अग्रवाल, ज्योति आचार्य, मोहन श्रेष्ठ, प्रशान्त बंशल, जेनिस शाक्यलगायतको उपस्थिति थियो । कार्यक्रमका आमाको स्वास्थ्य जाँच गराउन आएका धरान–१५ का विशाल भण्डारीले कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई निकै सहज भएको भन्दै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे ।