विजयपुर ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण सेवाहरू सुचारु भएको छ । प्रतिष्ठानका आन्दोलनरत पक्षले ओपिडी बहिष्कारको कार्यक्रम फिर्ता लिएसँगै सम्पूर्ण सेवा सुचारु भएको हो ।

प्रतिष्ठानको संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै गत आइतबारदेखि ओपिडी सेवा बहिष्कार गरेका थिए । प्रतिष्ठानका सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै ओपिडी सेवामा फर्किएको जनाएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षले उठाएका मागहरू धेरै पुरा भएको र केही पुरा हुने प्रक्रियामा रहेकाले आन्दोलनका कार्यक्रम स्थगित गरी स्वास्थ्य सेवामा फर्किन अपिल गरेको थियो । समितिले स्वास्थ्य मन्त्रालय र सबै पक्षको अनुरोधलाई स्वकार गर्दै ओपिडी सेवा फर्किएको जनाएको छ । ओपिडी सेवा बहिष्कार फिर्ता भए पनि अन्य आन्दोलनका कार्यक्रम भने निरन्तर गरिरहने समितिका संयोजक डा। एसपी रिमालले बताए ।

उनले, भने, ‘आन्दोलनको कार्यक्रम फिर्ता लिएको होइन, परिमार्जन गरेको हो, प्रतिष्ठानले जित्ने अवस्था नआउन्जेल आन्दोलन गरिरहन्छौँ ।’ मन्त्रालय आफ्ना मागहरू केही सम्बोधन गरेकाले तत्काललाई ओपिडी सेवामा फर्किएको अन्य मागहरू चाँडै पुरा नगरे पुनः कडा आन्दोलनमा फर्कने डा रिमालले बताए ।

समितिले उपकुलपतिसहित  पदाधिकारीको कार्यकक्षमा लगाएको तालाबन्दी र पदाधिकारीहरू चढ्ने गाडीको चाबी नियन्त्रणलाई यावत राख्ने जनएको छ ।

संयुक्त सङ्घर्ष समितिले प्रतिष्ठानका पदाधिकारी नियुक्तिको लागि मापदण्ड निर्धारण गरी निर्धारित मापदण्डअनुसार नियुक्त गर्नु पर्ने, पदाधिकारीलाई कारबाही गर्नु पर्ने, पदाधिकारीले मात्रै प्रतिष्ठानलाई धरासायी नबनाएकाले र धरासायी बनाउन चिकित्सक, कर्मचारीहरूको पनि संलग्नता भएकाले संलग्न कर्मचारीहरूलाई पनि कारबाही गर्नुपर्ने, प्रतिष्ठानका सबै विकृति विसङ्गति हटाउनु पर्ने माग गर्दै आएका छन् ।

प्रतिष्ठानमा आन्दोलन सुरु भएको ३ महिना भइसकेको छ । उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको ४१ दिन बितिसकेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको समूहले सङ्घर्ष समितिसँग ६ बुँदे सम्झौता गरेको पनि ४० दिन बितिसकेको छ ।

बीपीका उपकुलपति डा. गिरी प्राध्यापक नभएको पुष्टि

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक नभएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै डा। गिरी प्राध्यापक नभएको पुष्टि गरेको हो । मन्त्रालयले गरेको जारी विज्ञप्तिमा डा. गिरी प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएको उल्लेख गरेको छ । साथै डा। गिरीले प्राध्यापकको प्रमाण पेस नगरेपछि कानुन बमोजिम आवश्यक प्रक्रिया सुरु गरेको पनि जनाएको छ ।

तर, डा. गिरीले विगतमा आफू प्राध्यापक रहेको दाबी गर्दै आएका थिए । उनले अमेरिकाको कोलोराडो विश्वविद्यालय र नर्सिङ होमबाट प्राध्यापक उपाधि लिएको बताउने गरेका थिए । तर, मन्त्रालय प्रमाण माग गरेपछि उनले प्रमाण पेस नगरेपछि प्राध्यापक नभएको पुष्टि भएको छ ।

सङ्घर्षरत पक्षका धेरै माग सम्बोधन भएः मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनरत पक्षले उठाएका धेरै मागहरू पुरा भइसकेको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै धेरै मागहरू सम्बोधन भइसकेको र केही मागहरू प्रक्रियामा रहेको जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा पदाधिकारीलाई बर्खास्त गर्नका लागि २५ सिनेटरले हस्ताक्षर गरी कुलपति समक्ष पेस गरेको र चाँडै उपयुक्त समयमा पदाधिकारीको कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको प्रतिष्ठानको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रयास गरिने, अख्तियारले प्रतिष्ठानमा भएका भ्रष्टचारको छानबिन गरिरहेको जनाएको छ । साथै विश्व विद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड तय गर्न प्राध्यापकसहितको समिति गठन भएको र समितिले मापदण्ड तयार गर्ने जनाएको छ । रजिस्ट्रारको राजीनामा स्वकृति, उच्चस्तरीय छानबिन आयोग सिनेट बैठकबाट गठन हुने जनाएको छ ।