विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानअन्तर्गतको संयुक्त सङ्घर्ष समितिले ओपिडीलगायत सेवा बहिष्कार गरेपछि बिरामी समस्यामा परेका छन् ।

धरान–५ की दुर्गा लामिछानेले छोरीको नियमित परीक्षण गराउँदै आएकी थिइन् । थप परीक्षणका लागि उनलाई आइतबार बोलाइएको थियो । तर, प्रतिष्ठान बन्द रहेको बताएपछि उनी फर्कन बाध्य बनिन् । प्रतिष्ठानका कर्मचारीले बच्चालाई साह्रै समस्या भएको भए आकस्मिक कक्षमा जान सुझाएको उनले बताइन् ।

‘प्रतिष्ठानमा अन्तिम अवस्थाको बिरामी भएमात्रै भर्ना गराउँछ, अनि परीक्षण नगराई फर्किएँ’–उनले भनिन् । ८५ दिनदेखि समिति आन्दोलित छ । सरकारले साउन २० गते आन्दोलनरत पक्षसँग ६ बुँदे सम्झौता गरेको थियो तर, सम्झौता कार्यान्वयन नगरेको भन्दै आइतबारबाट ओपिडी सेवा बहिष्कार गरेका छन् । जसको प्रत्यक्ष मार दैनिक ओपिडीमा आउने ३ हजार बिरामीलाई परेको छ ।

सरकारले असार ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा बनाएको उच्चस्तरीय कार्यदलले प्रतिवेदनमा औंल्याएका विषयप्रति संवेदनशील नबनेको समितिको आरोप छ । चिकित्सक, नर्स, कर्मचारी सम्मिलित संयुक्त सङ्घर्ष समितिका सह–संयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठानको समस्या समाधान नभई ओपिडी सेवामा नफर्कने बताए । उनले बिरामीहरूलाई बाहिरबाट फोनलगायतका माध्यमबाट परामर्श गर्दै आएको बताए ।

‘टाढाबाट बिरामीहरू आउँछन्, त्यसैले बाहिरबाट सेवा दिने तयारीमा थियौँ, प्रतिष्ठानभित्र कानूनविपरीत राजनीतिक दलको झण्डा ओढेर ताला फुटाएपछि त्यो पनि के गर्ने भन्ने छ’ उनले भने, ‘आपिडी कार्ड काटेर सेवा गर्दैनौं ।’ समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले आफूहरूले प्रतिष्ठान बन्द नगरी पदाधिकारीहरूले बन्द गरेको बताए । ‘अहिले हामीले प्रतिष्ठान सुधारका लागि ओपिडी सेवा मात्रै बन्द गरेका छौं, आन्दोलनलाई सबै पक्षले गम्भीर रूपमा नलिए प्रतिष्ठान पछिसम्म नै बन्द हुन्छ ।’

ताला फोड्नु आपराधिक कार्य
बीपी प्रतिष्ठानको हाताभित्र लगाएको ताला राजनीतिक दलको झण्डा ओढेर फोडिनु आपराधिक कार्य भएको समितिले जनाएको छ । स्वास्थ्यसंस्थामा लगाएको ताला कुनै पनि समूह वा राजनीतिक दलले बल प्रयोग गरेर फोड्नु भनेको गैरकानूनी कार्य भएको संयुक्त सङ्घर्ष समितिका सह–संयोजक डा. विष्णु पोखरेलले बताए ।

प्रतिष्ठानको ताला २ तरिकाले मात्रै खोल्न सकिने समितिले जनाएको छ । सह–संयोजक डा. पोखरेलले अस्पतालको कुनै पदाधिकारीसँगको सहमतिमा सङ्घर्ष समितिले र प्रशासनको आदेशमा खोल्न सकिने बताए । उनले भने, ‘अस्पताल प्रशासनमा बल प्रयोग हुन्छ, भोलि बाटो हिँड्दा आक्रमण होला, राज्यमा कानून छ कि छैन ? कानून छ भने ताला फोड्ने समूहलाई कारबाही होस् ।’

सोमबार नेकपा (एमाले) राप्रपा, राप्रपा नेपाल र लिम्बुवान मञ्चले प्रतिष्ठानमा लगाएका ताला बल प्रयोग गरी फोडेका थिए । नेकपा (एमाले) धरानका अध्यक्ष हर्कजङ एभेङले आफू ताला फोड्ने नियतले नगए पनि प्रहरीको दमनपश्चात् फोड्न बाध्य बनेको बताए । उनले भने, ‘हामी ताला फोड्नका लागि गएका थिएनौं, प्रहरी दमन भएपछि आमस्मिक रूपमा फोडियो ।’ उनले प्रतिष्ठानको समस्या विगतदेखि नै भएकाले प्रतिष्ठान बिग्रनुमा अहिलेका मात्रै पदाधिकारी दोषी नभएको बताए ।

‘आकस्मिक ताला फोड्ने कार्य भयो, जुन गर्न नहुने थियो, हामीले जिम्मा लिनुपर्छ ।’ सुरुमा ताला फोड्ने कार्य आवेशमा भएको बताए पनि उनले पुनः सबै ताला फोड्नुपर्ने जनाए ।

नागरिक दबाव सञ्जाल धरानका संयोजक सह–प्राध्यापक डा. राजेन्द्र शर्मा सङ्घर्षरत समूहले आन्दोलनको स्वरूप परिवर्तन गरेकाले आम नागरिकमा असर प¥यो भन्दैमा अर्को समूहले हस्तक्षेप गर्न नमिल्ने बताए । उनले लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाइने र सम्बन्धित पक्षले सुन्नुपर्ने बताए । ‘वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा बल प्रयोग गर्नु निन्दनीय  छ’ उनले भने, ‘भ्रष्टाचार, विकृति, विसङ्गति शुद्धीकरण आन्दोलनकोविरुद्धमा आन्दोलन गर्नु भनेको भ्रष्टाचार, विकृति, विसङ्गतिको पक्षमा रहनु हो ।’ उनले थपे, ‘बल प्रयोग गरी ताला फोड्नु उद्दण्ड हो, दण्डनीय छ ।’

राजनीतिक दलकै फरक–फरक धारणा
धरानका विभिन्न ९ राजनीतिक दलसहित सङ्घर्ष समितिले गर्दै आएको आन्दोलन अन्ततः सङ्घर्ष समितिमा सीमित हुन पुगेको छ । बीपी प्रतिष्ठान सुधार आन्दोलनमा सुरुवाती चरणदेखि साथ दिएका राजनीतिक दलले भने हाल आएर प्रतिष्ठान सुधारका लागि ओपिडी सेवा बहिष्कार गर्ने कुरामा असहमति जनाउँदै आएका छन् ।

नेकपा (एमाले)सहित राप्रपा, राप्रपा नेपाल र लिम्बुवान मञ्चले पदाधिकारीको कार्यकक्षमा लगाएको तालासमेत बल प्रयोग गरेर फोडेको छ । केही समयअघि नेकपा (एमाले), राप्रपा, लिम्बुवान मञ्चले पनि पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोल्न माग गर्दै विज्ञप्ति नै जारी गरेको थियो । एमालेको नेतृत्वमा ४ राजनीतिक दलले बल प्रयोग गरी ताला खोल्नुले पनि शुद्धीकरण आन्दोलनमा राजनीति हाबी हुन थालेको स्पष्ट देखिन्छ

। तर, एमाले धरान अध्यक्ष हर्क एभेङले फोन सम्पर्कमा ताला खोल्ने नियतले प्रतिष्ठान नगएको बताए पनि सोमबार नै ४ राजनीतिक दलले जारी विज्ञप्तिमा ताला नखोले थप आन्दोलन गर्ने जनाएको छ । यसले पनि आन्दोलनमा राजनीति हुन थालेको पुष्टि हुन्छ । अन्य राजनीतिक दलले पनि ओपिडी सेवा बहिष्कार गर्ने कुरामा असहमति जनाएका छन् । नेपाली काङ्ग्रेस धरान सचिव श्याम पोखरेलले ओपिडी बहिष्कार गर्ने कुरामा असहमति भए पनि आन्दोलन निरन्तर गर्ने बताए ।

माओवादी केन्द्र धरानका इञ्चार्ज चात्लुङले आन्दोलनरत पक्षले सेवा बहिष्कार गर्नु र राजनीतिक दलले बल प्रयोग गरी ताला फोड्नु दुवै गलत भएको प्रतिक्रिया दिए । एमाले धरानका अर्का अध्यक्ष नारायण सुवेदी ताला फोड्ने कुरामा आफ्नो संलग्नता नरहेको बताए ।