धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत लामो समयदेखि प्रमुख पदाधिकारीकहाँ लागेको तालाबन्दी तोडिएसँगै आन्दोलनरत पक्षले यसलाई फरक कोणबाट ‘विश्लेषण’ गरेको छ । 

बीपी शुद्धीकरणको माग राख्दै असार २ गतेदेखि आन्दोलनरत चिकित्सक, कर्मचारी तथा नर्स सम्मिलित संयुक्त सङ्घर्ष समितिले प्रतिष्ठानका चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दीपश्चात् दैनिक कामकारबाही डिन कार्यालयबाट गर्दै आएका थिए । आन्दोलनरत पक्षसँग सरकारका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समितिले साउन २० गते ६ बुँदे सहमति गरेको थियो । 

सहमतिअनुसार सरकारले कार्यान्वयनमा उदासिन भएको भन्दै भदौ ११ गते एक साता अल्टिमेटम दिँदै आइतबारदेखि आकस्मिक तथा कोभिड अस्पतालबाहेकका सेवा बहिस्कार गरेका थिए । तालाबन्दीको विषयलाई लिएर केही दल र नेपाल औषधि व्यवसायी सङ्घ धरान नगर इकाई समितिले खुलाउन माग गर्दै आएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपाल धरान नगर समितिले विज्ञप्ति जारी गर्दै तालाबन्दी खुलाउन आग्रह गरेका थिए । 

तीन दल र औषधि व्यवसायीले चारजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी लागे पनि उपकुलपतिकहाँ लागेको ताला खुलाउनुपर्ने अडान राख्दै आएका थिए । अन्य पदाधिकारीको हकमा भने ‘चुँ’ सम्म विज्ञप्तिमा बोलेको देखिएन । नेकपा एमालेका अध्यक्ष हर्कजङ एभेङले उपकुलपतिकहाँ लागेको ताला मात्रै खोल्ने नभई सबै पदाधिकारीकहाँ लागेको ताला खुलाउनुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘तर आज चाहिँ प्रहरीले हस्तक्षेप गरेपछि उपकुलपतिमा लागेको तालाबन्दी फुटाएका हौं’ उनले भने । 

राजनीतिक दलले सहमति कार्यान्वयन गराउनेतर्फ दबाव सिर्जना गराउनुको सट्टा उल्टो गलत गर्नेहरूलाई नै बचाऊमा लागेको आन्दोलनरत पक्षको भनाइ छ । आन्दोलनरत पक्ष ताला फुटाएकोप्रति रुष्ट बनेको छ । 

सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्नु भनेको निकृष्ट र आपराधिक क्रियाकलाप भएको संयुक्त सङ्घर्ष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले बताए । उनले भने, ‘बाहिरबाट आएर यस्तो कार्य गरिनु अराजक गतिविधि हो, निहित व्यक्तिको स्वार्थमा गरिएको छ । यसलाई राजनीतिक दल भन्नै मिल्दैन ।’ 

उनले आफूहरूलाई प्रमुख राजनीतिक दलहरूले समर्थन गरिरहेको र बिरामीको सेवामा ध्यान दिनू भनेर भनेको अवस्था रहेको बताए । उनले आफूहरूले पनि उपकुलपतिको कार्यालय अगाडि, फोनबाट, भाइबरबाट, वार्डमा उपचार गरिरहेको बताए । अस्पताल बन्द चाहिँ प्रतिष्ठानका पदाधिकारीहरूले गरिरहेको आरोप लगाए र सरकारले पनि यस्तै होस् भन्ने चाहेकाले सरकारविरुद्ध सबै नागरिक, पत्रकार, चिकित्सक, धरानका जनता लाग्नुपर्ने बताए । 

सोमबार चार राजनीतिक दलहरू ‘अस्पताल सेवा सञ्चालन गर्नुपर्ने माग राख्दै’ शान्तिपूर्ण रूपमा विरोध गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको जनाएको छ । चार राजनीतिक दलमध्येका सङ्घीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय सचिव एवम् जिल्ला इन्चार्ज भूपेन्द्रसुन्दर लावतीले प्रहरीले अचानक हस्तक्षेप गरेका कारण तालाबन्दी फुटाइएको बताए । 

‘शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले हस्तक्षेप ग¥यो, हाम्रो झण्डा धुलोमा किचीमिची पा¥यो, त्यसपछि युवा उग्र भएर ताला फोडिएको हो’ उनले भने, ‘त्यसक्रममा एकजना हाम्रो मान्छे पनि घाइते भएको छ ।’ आजको विरोधसभामा राप्रपा नेपाल, राप्रपा, नेकपा एमाले र लिम्बुवान संलग्न थिए । यता प्रतिष्ठान प्रहरी पोष्टका अनुसार अस्पताल क्षेत्रका धर्ना, जुलुस गर्न मनाही भए पनि राजनीतिक दलले धर्ना गरेकाले हटाउन खोजेको जनाएको छ ।