विराटनगर : प्रदेश १ को पूर्वी सहरमा प्रतिबन्धित औषधीको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ भने प्रहरीले गिरोह मध्यकै उर्लाबारी नगरपालिका ७ का २२ वर्षिय सचिन कार्कीलाई पक्राउ गर्न सकेको छैन्।
औषधीको चरम दुरूपयोग गर्दै गिरोहले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधी मिक्स गरि लागूऔषध बनाएर कारोबार गर्ने गिरोह सक्रिय रहेको औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुसन्धानदेखि खुलेको हो ।
विभागले केही दिन अगाडी धरानका १६ का २४ वर्षिय प्रभु साहलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको थियो । पक्राउ परेका साहको बयानदेखि लागूऔषधको कारोबार गर्ने सचिन रहेको अनुसन्धानदेखि खुलेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए ।
‘अनुसन्धान गर्दै जाँदा कार्कीले पूर्वी सहरमा प्रतिबन्धित औषधीको कारोवार गर्ने गरेको खुलेको छ । उनले मोरङ, सुनसरी र झापाका विभिन्न सहरमा प्रतिबन्धित औषधीको चरम दुरूपयोग गरि लागूऔषध बनाएर बिक्री वितरण गर्ने गरेको अनुसन्धानदेखि खुलेको हो ।’
विभागले साहलाई पक्राउ गरेपनि कार्की अहिलेसम्म पक्राउ परेका छैनन् । उनी प्रहरीको फरार सूचीमा रहेका छन् । खोजी कार्य तिव्र भइरहेको कट्टेलले जानकारी दिए । औषधी व्यवस्था विभागले पक्राउ परेका साहसहित कार्कीलाई फरार प्रतिवादी बनाएर अदालतमा ३१ साउनमा अभियोग दर्ता गरिसकेको छ । पछिल्लो समय प्रतिबन्धित औषधीसहित युवा उमेर समूहका पक्राउ पर्दा औषधी ल्याउने कारोबारीको नाम सचिन कार्कीको बताउने गरेको विभागले जनाएको छ ।
यसअघि केही फार्मेसीहरूले टामाडोललाई लागूऔषध बनाएर बिक्री वितरण गर्दै आएकोमा अहिले अपोट्याब, ईसपाजमो र इसपाजमोप्रोक्सिवन नामको औषधी मिक्स गरी लागूऔषधको रुपमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानदेखि खुलेको विभागका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।
‘यसअघि ट्रामाडोल औषधी मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण हुने गरेको थियो,’ फार्मेसी निरीक्षक खड्काले भने, ‘अहिले नयाँ तथ्य खुल्न आयो । अहिले दुखाइ कम गर्ने ओपोट्याब, ईसपाजमो र इसपाजमोप्रोक्सिवन क्याप्सुल मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण गर्ने गरेको भेटिएको छ ।’ पक्राउ परेकाहरूलाई विभागले औषधी ऐन, २०३५ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।