विराटनगर / औषधी व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका ११ वटा फार्मेशी बन्द गरेको छ । सुनसरी र मोरङका २२ वटा फार्मेशी अनुगमन गरेका मध्ये कैफियत भेटिएको ११ फार्मेशी बन्द गरिएको हो । 

सुनसरीको ४ र मोरङका ७ वटा फार्मेशी बन्द गरिएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए । यसरी बन्द गरिएको फार्मेशीहरूमा सुनसरीको धरान ६ पानबारीका पानबारी मेडिकल, सुन्दर मेडिकल हल, सोम मेडिकल र सीमाना क्लिनीक रहेका छन् ।

अनुगमनको क्रममा पानबारी मेडिकलले प्रतिबन्धित औषधी र दर्ता नभएको सेनिटाइजर बिक्री बितरण गरेको भेटिएपछि विभागले फार्मेशी बन्द गरेको छ । यस्तै सीमाना क्लिनीले औषधी व्यवस्था विभागमा दर्ता बेगार खुल्लेआमा औषधी बिक्री वितरण गरेको अनुगमनको क्रममा पाइएपछि शिलबन्दी गरिएको कट्टेलले जानकारी दिए ।

यसैगरि मोरङको केराबारी गाउँपालिका भित्रका दुई वटा फार्मेशी पनि बन्द गरिएको छ । केराबारी १० मा रहेको केराबारी मेडिकल हलले औषधी बिक्री वितरण गर्ने एक जना फर्माशिष्ट प्राविक दुई ठाउँको पसलमा रहेको पाइएपछि बन्द गरिएको विभागले जनाएको छ ।

‘केराबारी मेडिकल हलको लागि स्ववीकृत लिएको फर्माशिष्ट प्राविधकको नाम अर्को पथरी ३ मा रहेको सुबिक मेडिकल हलमा पनि देखियो । एकै व्यक्ति दुई ठाउँमा देखिएको कारणले हामीले दुवै फार्मेशी अर्को आदेश नभएसम्मको लागि शिलबन्दी गरि निलम्बनमा राखिएका छौं,’ फार्मेशी निरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र खड्काले भने । 

यसैगरि केराबारीमा रहेको दिशीका मेडिकल हल, सुन्दरहरैचना नगरपालिका १० विराटचौकमा रहेको सीता मेडिकल हल, जमुना मेडिकल हल र कुसल मेडिकल हल पनि बन्द गरिएको विभागले जनाएको छ । अनुगमनको क्रममा मिक्लाजुङ्ग गाउँपालिका ४ मा रहेको प्राची मेडिकल हल पनि निलम्बन गरिएको छ ।

प्राची मेडिकल हले विभागले अनुगमनको क्रममा पटक पटक सचेत गराउँदा पनि प्रक्रिया पुरा नगरेको कारणले मेडिकल हल शिलबन्धी गरि अर्को आदेश नभएसम्मको लागि निलम्बन गरिएको विभागले जनाएको छ ।

औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले औषधीजस्तो सम्बेदनसिल सामाग्री बिक्री वितरणमा पनि फार्मेशीहरूले स्वीकृत नलिकन संचालन गर्ने गरेको पाइएको बताए । ‘अनुगमनको क्रमममा फार्मेशीमा प्राविधक पनि नरहेको पाइएको छ,’ उनले भने । आर्थिक वर्ष २०७७/०७८ मा औषधी व्यवस्था विभागले दर्ता नभएका २८ वटा फार्मेशी बन्द गरेको छ ।