धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७९ दिनदेखि चलेको आन्दोलनलाई ‘ट्विस्ट’ गर्न लागिएकोप्रति संयुक्त सङ्घर्ष समितिले चिन्ता प्रकट गरेको छ ।

समितिमा आबद्ध नभएका चिकित्सकहरूले पनि पछिल्लो दुई–तीनदिन यतादेखि विभिन्न संस्था तथा पार्टीको नाममा जारी विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

बीपीका चिकित्सक प्रकाशकुमार पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजसम्म त कुनै पनि काम नरोकी पदाधिकारीको अफिसमा तालाबन्दी मात्रै गरेका थियौं, तर अब धरानका कथित राजनीतिक दल र औषधि व्यवसायीहरूको विशेष रहरमा हामी आफ्ना सबै काम छाडेर चुपचाप कोठामा बस्दै छौं ।’ उनले चेतावनीयुक्त भाषाको प्रयोग गर्दै थप अगाडि लेखेका छन्, ‘हेरौं, हामी पनि औषधि व्यवसायी र एमाले नगर कमिटीले कसरी अस्पताल चलाउने र बिरामीको उपचार गर्ने रैछन् ।’

सोमबार नेपाली औषधि व्यवसायी सङ्घ धरान नगर समितिका संयोजक मचेन लिम्बू र मङ्गलबार नेकपा (एमाले)का हर्कजङ एभेङद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी खुलाउन आग्रह’ गरिएको छ ।

सङ्घर्ष समितिले आन्दोलन सुरु गरेको केही समयपश्चात् प्रतिष्ठानका चारै जना प्रमुख पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । असार २ गतेबाट समितिले आन्दोलन सुरु गरेको थियो । त्यसबीचमा असार १५ गते प्रतिष्ठानका उपकुलपतिसहित चारैजना पदाधिकारीसँग वार्ता गर्ने माहौल तयार भएको थियो । उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पनि वार्ताका लागि आह्वान गरेका थिए तर, वार्तास्थलमा मादक पदार्थ सेवन गरी आएको पाइएपछि वार्ता नै भाँडिएको थियो । त्यसपश्चात् आन्दोलनरत पक्षले थप आन्दोलनलाई सशक्त बनाएका थिए ।

उक्त आन्दोलनकै कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरीय कार्यदल गठन भएको थियो । उक्त कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो भने साउन १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सार्वजनिक गरेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले कागजात जफत गरी अनुसन्धान गरिरहेको छ ।

तत्कालीन समयमा सरकारले कृष्णप्रसाद पौडेलको संयोकजत्वमा तीन सदस्यीय समिति वार्ताका लागि पठाएको थियो । उक्त वार्ता समितिले ६ बुँदे सहमति गरेको भए पनि हालसम्म उक्त मागहरू पूरा हुन सकेको छैन । तत्कालीन समयमा पनि प्रमुखको कार्यकक्षमा लागेको तालाबन्दी खोल्न आन्दोलनरत पक्ष सहमत भएका थिएनन् तर, अहिले नेकपा (एमाले) र औषधि व्यवसायी सङ्घको नाममा तालाबन्दी खोल्नुपर्ने आवाज उठ्न थालेपछि समितिले चिन्ता व्यक्त गरेको हो ।

समितिले प्रतिष्ठान शुद्धीकरण र प्रमुख चारैजना पदाधिकारीहरूको राजीनामा माग गर्दै आएका छन् । यता यसबीचमा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएको भनिए पनि हालसम्म उनको राजीनामा पत्र स्वास्थ्य तथा जनसङ्ख्या कार्यालयमा दर्ता भएको पाइएको छैन ।

तर, रेग्मीले भने आफूले राजीनामा दिएको प्रष्ट्याउँदै आएका छन् । स्रोतका अनुसार डा. रेग्मीले शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाललाई फोन सम्पर्क गरी ‘राजीनामा नदिए अप्ठ्यारोमा पर्ने सङ्केत देखिएको’ भनेका थिए । त्यसपश्चात् नै उनले राजीनामा दिएका हुन् तर, शिक्षाध्यक्ष खनालले भने अहिलेसम्म राजीनामा दिएका छैनन् । उनले ब्लाष्टकर्मीसँग फोनमा भने, ‘मैले राजीनामा दिँदा निकास हुन्छ भने म राजीनामा दिन तयार छु भनेर भनिसकेको छु । मैले राजीनामा दिएर शुद्धीकरण हुन्छ भन्ने ग्यारेण्टी छ ?’

अहिले पदाधिकारीकहाँ लागेको तालाबन्दी खुलाउनका लागि शिक्षाध्यक्ष खनालले नै धरानका स्थानीय व्यक्ति र पार्टीलाई परिचालित गरेको नाम उल्लेख नगर्ने सर्तमा प्रतिष्ठान स्रोत बताउँछ । ‘धरानको चलखेल भनेको गुरु खनालले नै गराएको हो । रजिष्ट्रारले राजीनामा दिएपछि दबाव परेको छ । त्यसकारण पोलिटिकल लबीमार्फत् दबाव सिर्जना गरेर तालाबन्दी खोलाउन पहल थालिएको छ ।’ उनका अनुसार शिक्षाध्यक्षलगायतले सिनेट डाकेर चाँडोभन्दा चाँडो निकास गर भनेर पो भन्नुपर्ने हो ।

यस विषयमा फोनमार्फत् बुझ्दा शिक्षाध्यक्ष खनालले आफ्नो कुनै भूमिका नभएको दाबी गरे । ‘तालाबन्दी खोल्नुपर्छ भन्नेमा मेरो भूमिका कसरी हुन्छ । राज्यले सबै छानबिन समिति बनाएको छ । छानबिन गरिरहेको छ । वार्ता टोलीले आफ्नै किसिमले काम गरिरहेको छ । त्यस्तो अवस्थामा हाम्रो भूमिका जोडिने कुरै आएन’ उनले भने, ‘म आफै २२ वर्षदेखि शुद्धीकरण हुनुपर्छ भनेर आवाज उठाइरहेको छु । संस्था राम्रो हुनुपर्छ, बिरामीले राम्रो उपचार पाउनुपर्छ ।’

बीपी शुद्धीकरणको अभियान चालिरहेका समितिमध्येका संयोजक डा. सूर्यप्रसाद रिमालले निहित व्यक्ति वा गुटको फाइदाका लागि यही व्यवस्थापनको विकल्प छैनजस्तो गरी आशय आउने गरी कुनै पनि विज्ञप्ति प्रकाशित नगरिदिन अनुरोध गरेको  बताए । समितिले सामाजिक सञ्जाल फेसबुकमा चलाएको बीपी प्रतिष्ठान शुद्धीकरण अभियान पेजमा बुँदागत रूपमा लेखेका छन्, ‘प्राध्यापक नभई (स्वघोषित प्राध्यापक) लेखेकोबारे नबोली असार १५ गते उपकुलपति कार्यालयमै स्वदेश एवम् विदेशै हल्लिने गरी भिसी हल्लिएको कुरा कहीँ कतै नलेखिकन, सम्पूर्ण काम सम्पूर्ण शिक्षक, कर्मचारी (पदाधिकारीले पनि) ले आ–आफ्ना ठाउँबाट काम गरिरहेको थाहै नपाइकन व्यवस्थापनको वैतरणी तार्नेजस्ता आशय आउने गरी विज्ञप्ति प्रकाशित नगर्न चेतावनी दिएको छ । एमालेले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठान सुधारका लागि भए पनि अर्कोे पक्षलाई निषेध गर्ने किसिमले अगाडि बढेको जनाइएको छ ।