इटहरी । कोरोना भाइरस विरुद्धको खोप लगाउने क्रममा सुनसरीको इटहरी–१९ तरहरामा स्वास्थ्यकर्मीले गम्भीर लापरबाही गरेका छन् । गत साउन ११ गते भेरोसेलको पहिलो डोज लगाएकी इटहरी–१९ की लक्ष्मीमाया पुरीलाई दोस्रो डोजमा कोभिसिल्डको दोस्रो डोजका रूपमा लगाइने गरिएको अस्ट्राजेनिका खोप लगाइदिएपछि अहिले उनी बिरामी छिन् ।

हाँसपोसा स्वास्थ्य चौकी तरहरामा पहिलो डोज भेरोसेल लगाएकी पुरीलाई भदौ १३ गते सोही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले अस्ट्राजेनिका खोप लगाइदिएपछि ५५ वर्षीया पुरी बिरामी परेकी हुन् । ‘दोस्रो डोज खोप लगाइँदै छ’ भन्ने सुनेर पञ्चायत रजत जयन्ती निमाविस्थित खोप केन्द्र पुगेकी उनलाई स्वास्थ्यकर्मीले अस्ट्राजेनिका खोप लगाइदिएका थिए । उनको अवस्था भने सामान्य नै छ ।

खोपको पहिलो मात्रा प्राप्त गरेका व्यक्तिले जुन खोप लगाएका हुन्, त्यही खोपको दोस्रो मात्रा लगाउनुपर्ने बताइए पनि स्वास्थ्यकर्मीले गम्भीर लापरबाही गरेको लक्ष्मीका छोरा मदन पुरीले बताए । ‘आमा खोप लगाउन जानुभएछ तर, स्वास्थ्यकर्मीेले कार्डमा भेरोसेल लगाएको मिति देख्दादेख्दै किन अर्को खोप लगाइदिए ?’–उनले प्रश्न गरे । उनले स्वास्थ्यकर्मीले गम्भीर लापरबाही गरेको भन्दै खोप लगाउने स्वास्थ्यकर्मीलाई  कडा कारबाहीको माग गरे । 

‘पहिलो मात्रा कोभिसिल्ड लगाएकाले दोस्रो मात्रा पनि कोभिसिल्ड नै लगाउनु पर्छ । भेरोसेल लगाएकाले भेरोसेल नै लगाउनु पर्ने हो’ इटहरी अस्पतालका इमरजेन्सी इञ्चार्ज रामकुमार धमलाले भने, ‘त्यसको असर २४ घण्टामा देखिइसक्नु पर्ने थियो, मैले यस विषयमा माथिल्लो निकायसम्म कुरा गरिसकेको छु ।’  खोप लगाउने कार्यमा गम्भीर लापरबाही भएको उनको भनाइ छ । खोप करारका कर्मचारी प्रमिला बञ्जाराले लगाइदिएकी हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले खोप लगाउने स्वास्थ्यकर्मीको गम्भीर लापरबाही भएको बताए । उनले स्थानीय तहका कर्मचारी भएका कारण उनीहरूलाई स्थानीय तहले नै सचेत गराउनुपर्ने बताए । ‘स्थायी कर्मचारीहरू सबैलाई खोपसम्बन्धी तालिम दिएको भए पनि करारका कर्मचारीलाई तालिम दिइएको छैन’ उनले भने, ‘म त्यो कर्मचारीको बारेमा सोधीखोजी गर्छु ।’ 

हाँसपोसा स्वास्थ्य चौकीका इञ्चार्ज रोहित तिम्सिनाले गम्भीर गल्ती भएको स्वीकार गरे । ‘भदौ १३ गते इटहरी–१९ र १ नम्बरमा खोप लगाउँदै थियौं । दिनभरि पानी परेको कारण म दुवै ठाउँमा व्यस्त थिएँ, मैले थाहा पाएपछि नरमाइलो लाग्यो’–तिम्सिनाले भने । आफूहरूबाटै ठूलो गल्ती भएको स्वीकार गर्दै तिम्सिनाले थपे, ‘हामी अब थप सचेत हुन्छौं ।’

केही समयअगाडि खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीले दुइटै खोप लगाएको विषयमा आफूहरूलाई जानकारी नभएको बताएका थिए । 

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्ड र भेरोसेल फरक किसिमका खोप हुन् । कोभिसिल्ड पुनः संयोजित खोप हो भने भेरोसेल निष्क्रिय पारिएको भाइरसनिर्मित खोप हो ।

सरकारी नीतिअनुसार फरक–फरक खोपका दुई मात्रा नलगाउन भनिए पनि यो हानिकारक भने नहुने डाक्टर श्यामराज उप्रेतीले बताएका छन । उनले भने, ‘कोभिडको एउटा खोप लगाएपछि अर्को लगाउन मिल्छ कि मिल्दैन भन्ने अनुसन्धानकै विषय छ । तर, विश्व स्वास्थ्य सङ्गठनले अहिलेसम्म परीक्षण नभएकाले दुई खालको प्रयोग नगर्नू भनेको छ ।’