धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७६ दिनदेखि जारी आन्दोलनले नगरवासी तथा बाहिर जिल्लावासीलाई पनि प्रतिष्ठान बन्द रहेको बुझाइ हुँदै गएको भन्दै नेपाल औषधि व्यवसायी सङ्घ इकाई कमिटी धरानले त्यस्तो भ्रममा नपर्न आग्रह गरेको छ । 

सङ्घका संयोजक मचेन लिम्बूले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका प्रमुख पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी खुलाई काम गर्ने वातावरण तयार गर्न माग गरेको छ । सङ्घले आन्दोलनकर्मीको माग अनुरूप सरकारले सचिवस्तरको उच्चस्तरीय कार्यदल गठन गरेको र उसले प्रतिवेदन पनि सार्वजनिक गरिसकेको अवस्थामा अख्तियारले कागजात पनि छानबिन गरिरहेकाले यस्तो अवस्थामा आन्दोलनलाई स्थगित गरिदिन भनेको छ । 

अख्तियारले प्राप्त गरेको कागजातका आधारमा गुण, दोष केलाउँदै कारबाही गर्ने भएकाले तत्काल आन्दोलनको कार्यक्रम स्थगित गरेर सहज वातावरण तयार गरिदिन संयोजक लिम्बूले आग्रह गरे । प्रतिष्ठानमा जारी आन्दोलन, तालाबन्दी र अस्पताल नै बन्दजस्ता भ्रमात्मक कुराहरू बाहिर गइरहेकाले पनि तत्काल आन्दोलन स्थगित गरी सहज वातावरण बनाइदिन माग गरेको हो ।