धनकुटा । तिन हप्ता अघि देखि होटलमा लुकिछिपि राखिएको कोभिड महामारी विरुद्धको स्वास्थ्य सामाग्री तिन दिन भित्र स्वास्थ्य कार्यालय धनकुटालाई बुझाउन नेपाली कांग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापालाई नेकपा एमाले धनकुटाले अल्टिमेटम दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क प्रदान गरेको स्वास्थ्य सामाग्री थापाले धनपा–६ सिरान बजार स्थित प्यासिफिक थ्रि होटलको सभाहलमा भण्डारण गरी राखेको शनिबार एमालेले पुनः पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कोभिड विरुद्धको लाखौं मुल्य पर्ने स्वास्थ्य सामाग्रीमा नेपाली कांग्रेस सह–महामन्त्री थापाले सत्ताको आडमा राज्यको सम्पति दोहन गर्न खोजेको आरोप पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाली जनताले तिरेको करबाट खरिद गरिएको स्वास्थ्य सामाग्रीहरुमा नेपाली कांग्रेसको पार्टीको झण्डा र चुनाव चिन्हको स्टिकर टाँसेर धनकुटेली जनतामा भ्रम छर्न खोजिएको भन्दै एमाले धनकुटाले गम्भिर आपत्ति जनाएको छ ।
कोभिडको महामारीको समयमा चाँडो भन्दा चाँडो स्वास्थ्य समाग्रीहरु स्वास्थ्य कार्यालय मार्फत जनताको घर दैलोमा पुग्नु पर्दछ । तर, आफ्नो पार्टीको राजनितिक प्रभाव देखाउन गैह्र कानुनी ढंगले एक महिनासम्म लुकाई छिपाई होटल होटलमा राख्नु धनकुटेली जनताको स्वास्थ्य माथि गम्भिर खेलवाड गर्नु खोजिएको एमाले धनकुटाले अरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा नेता एवं प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले तिन दिन भित्र स्वास्थ्य सामाग्री नबुझाए नेपाली कांग्रेस धनकुटा र स्थानिय प्रशासनले चुनौतीको सामना गर्नु पर्ने चेतावानी दिए ।
उनले थापाले विधि र प्रक्रिया विपरित स्वास्थ्य समाग्री बजारका होटलहरुमा राख्न नपाईने बताए । सो अवसरमा बाेल्दै नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईले धनकुटेली जनताले अनुमोदित नगरेको मान्छेले निर्वाचित जनप्रतिनिधिहरु जस्तो स्वस्थ्य समाग्री वितरण गर्नु लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए । उनले तिन दिन भित्र स्वास्थ्य सामाग्री सम्वन्धित ठाउँमा नबुझाए परिणाम गम्भिर हुने नेपाली कांग्रेस धनकुटालाई चुनौती दिएका छन् ।
यसै विच कांग्रेसका महामन्त्री थापाले शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट थप स्वास्थ्य सामाग्री ल्याएर जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालय धनकुटालाई बुझाएका छन् । थापाले सूर्यबहादुर थापा फाउण्डेशन मार्फत् कांग्रेस पार्टीको लोगो र चिन्ह टाँसेर बाँड्नका लागि होटल प्यासिफिक–थ्रि धनकुटा–६ मा भण्डारण गरेर राखेको स्वास्थ्य सामाग्री पनि निःशुल्क रुपमा मन्त्रालय कै रहेको एमालेले दावी गरेको छ ।
एमालले पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको लेटर प्याडमा स्वास्थ्य समाग्री माग गरेर मन्त्रालयको महानिर्देशकबाट स्वीकृत गरेको जिन्सी समानको पत्र समेत सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा वितरित बिज्ञप्तीमा स्वास्थ्य सामाग्रीहरु कुनै दलबाट नभएर नेपाल सरकारको मातहतबाट बितरण गरिनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले बिधिको शासन र प्रक्रिया बिपरित काम गर्न खोजे यसको दुश्परिणाम धनकुटा प्रशासन र सम्बन्धित दलले भोग्नुपर्ने चेतावानी दिए ।
स्वास्थ्य सामाग्रीहरु संस्थागत नै वितरण गरिने भएपनि दलको चिन्ह प्रयोग गर्नु संबिधान तथा नीति बिपरित भएको एमाले धनकुटाको ठहर छ । उक्त सामाग्रीको बिषयमा थापाले यस अघि नै आफ्नो संस्थाले निजी रुपमा खरिद गरेको जानकारी दिईसकेका छन् । थापाले कोरोना महामारीको संवेदनशिल समयमा ल्याईएको स्वास्थ्य सामाग्रीको विबरण भने अहिलेसम्म सार्वजनिक होटलमा लुकाएर राखेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य कार्यालय धनकुटालाई उपलव्ध गराएको स्वास्थ्य सामाग्रीहरुमा नेपाली काग्रेस धनकुटाले राजनिति गरेको भन्दै नेकप एमाले धनकुटाले मंगलबार विरोध जनाएको थियो ।
नेपाल सरकारले निःशुल्क रुपमा स्वास्थ्य कार्यालय धनकुटालाई उपलव्ध गराएको स्वास्थ्य सामाग्रीहरु सुर्यवहादुर थापा फाउण्डेशनको नाममा नेपाली कांग्रेस धनकुटाले आफ्नो पार्टीको झण्डा र चुनाव चिन्ह टाँसेर सत्ताको चरम दुरुपयोग गरेको एमाले धनकुटाले आरेप लगाउँदै आएको छ । सो अवसरमा प्रदेश माननिय निरन राई, जिल्ला समन्वय प्रमुख टंक चौहान लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसका नेता तथा सह–महामन्त्री र सूर्य वहादुर फाउण्डेशनका संरक्षक सुनिल वहादुर थापाले भने औषधी लगायत स्वास्थ्य सामाग्री आफ्नो नितान्त निजि भएको दावी गर्दै आएका छन् ।
एमालेको विरोध पछि प्यासिफिक होटलमा राखिएको स्वास्थ्य समाग्रीलाई सशस्त्र र जनपथ प्रहरीले २४ घण्टा पहरा दिईरहेका छन् । महामारीको समयमा करिव १ महिनासम्म स्वास्थ्य समाग्री होटलमा थन्किएको विषयमा ब्लाष्टले जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ भने अफ दि रेकर्ड भन्दै बोल्न नमिल्ने भन्दै पन्सिए ।
उनले औषधीको सुरक्षाको लागी प्रहरीलाई जिम्मा दिएको छौं, थप यस विषयमा आफुले वोल्न नमिल्ने भन्दै प्रजिअ पन्थ मौन वसेका छन् ।