मोरङ / मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएको तीन दिनपछि श्रीमतीको पनि कोरोनाबाटै मृत्यु भएको छ ।

नगर स्वास्थ्यप्रमुख सन्तोष विश्वकर्माका अनुसार निषेधाज्ञा खुकुलो भएपछि नगरमा थप ७ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । बेलबारीमा कोरोनाबाट २५ जनाले ज्यान गुमाइसकेका छन् ।

स्थानीय विवेक मिश्रका अनुसार असार ३१ गते ७८ वर्षीय भैरव राईको तथा आइतबार साँझ ६८ वर्षीया पृथीकलाको मृत्यु भएको हो । परिवारका ६ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो । मिश्रका अनुसार बाँकी चार जनालाई भने निको भइसकेको छ ।

तीन साताको अवधिमा यस वडामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको वडा कार्यालयको तथ्यांकमा छ । 

वडा अध्यक्ष राजन पोखरेलका अनुसार निषेधाज्ञा खुकुलो भएलगत्तै वडामा संक्रमितको संख्या बढेपछि एक सातासम्म वडा सिल गरिएको थियो ।

उनका अनुसार निषेधाज्ञा खुकुलो हुनु पहिला वडामा ५० जना संक्रमित थिए । त्यसयता दुई सयभन्दा बढीमा संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको थियो । ९ हजार १ सय २३ जनसंख्या रहेको उक्त वडामा २ सय संक्रमितमध्ये ५० जना सक्रिय संक्रमित छन् । 

सबै होम आइसोलेसनमा छन् । निषेधाज्ञा खुकुलो भएसँगै बेलबारी नगरका सबै वडामा कोरोना संक्रमित बढेको नगरपालिकाको तथ्यांक छ ।